चितवन – भरतपुर महानगरपालिका र बिरेन्द्र बहुमुखी क्याम्पसबीच विभिन्न बिषयहरुमा सहकार्य गर्ने गरि मौखिक सहमति भएको छ ।
बिहीबार क्याम्पसमा गरेको बिरेन्द्र बहुमुखी क्याम्पस र भरतपुर महानगरपालिकाबीच सहकार्य बिषयक अन्तरक्रिया कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल, उप-प्रमुख चित्रसेन अधिकारी, भरतपुर १० का अध्यक्ष परमेश्वर खनाल र क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख दयाराम पौडेलकाबीचमा मौखिक सहमति भएको हो ।
आमनागरिकलाई स्थानीय सरकारको प्रत्याभूति हुने गरि महानगर र क्याम्पस एक आपसमा सहकार्य गरि स्मार्ट शिक्षाको पहुँचमा सबैलाई जोड्न सकिने गरि प्रक्रिया अगाडि बढाइने भएको हो ।
महानगर प्रमुख रेनु दाहालले क्याम्पस सगको सम्बन्ध सधै सुमधुर रहेको बताउदै क्याम्पसको लागी सधै सहयोग गरिरहने प्रतिबद्धता जनाए ।
बिगत ६ बर्ष यता भरतपुरको शैक्षिक गुणस्तरले नसोचेको फड्को मारेको भन्दै प्रमुख दाहालले यसमा क्याम्पस अब्बल रहेको समेत उल्लेख गरिन् । ‘महानगर सबै क्षेत्रसँग सहकार्य गर्न तयार छ प्रमुख दाहालले भनिन्, ‘क्याम्पसका एजेन्डाहरुलाइ आगामी दिनहरुमा क्रमश पूरा गर्दै जानेछौं ।’
महानगरका उप प्रमुख अधिकारीले उच्च शिक्षाको गर्बिलो संस्थाको रुपमा रहेको बिरेन्द्र बहुमुखी क्याम्पससँग सहकार्य गर्न महानगर तयार रहेको बताए ।
‘हामी क्याम्पस प्रशासनसँग सहकार्य गरि अगाडि बढ्न तयार छौं उप प्रमुखले अधिकारीले भने, ‘त्यसको लागी क्याम्पस वैज्ञानिक एजेन्डा सहित आउन आवश्यक छ । स्मार्ट सिटि निर्माणका लागि हामी स्मार्ट शिक्षाको परिकल्पना सहित अगाडि बढेका छौं ।’
आकाशे पुल, स्मार्ट शौचालय, सिसि क्यामरा राख्ने सवालमा महानगरले दिन रात नभनी काम गरिरहेको पनि उप प्रमुखले उल्लेख गरे ।
साथै उनले क्याम्पस प्रमुखको कार्यकक्षमा बिगत ४ महिना देखि लगाइएको ताला सहमति र सहकार्यको माध्याम बाट तत्काल खोल्न सम्बन्धित पक्षसँग आग्रह पनि गरेका छन् ।
२०२२ साल बैशाख १५ गतेदेखि सन्चालनमा आएको उक्त क्याम्पसले २०३० सालबाट अंगिक क्याम्पसको रुपमा मान्यता पाएको थियोे । हाल उक्त क्याम्पसमा ६ हजार २६२ जना विद्यार्थी अध्ययनरत छन ।





















