भरतपुर : चितवनको भरतपुर विमानस्थल पछाडि रहेको चितवन गार्डेन रिसोर्टमा बिहे भोज खाएका २ सय जना भन्दा बढी जन्ती बिरामी परेका छन् ।
नवलपुरको गैँडाकोटबाट भरतपुर जन्ती आएका उनीहरुले भरतपुरमा रहेको चितवन गार्डेन रिसोर्टमा शुक्रबार बिहे भोज खाएका थिए । भोज खाएपछि उनीहरु बिरामी परेका थिए । बिहेभोज खाएपछि दुलाहा र दुलही दुबैतर्फका मानिस बिरामी परेका हुन् ।
गैडाकोँट नगरपालिका वडा नम्बर १ बाट गणेश ढकालको बिहेमा उनका आफन्त, इष्टमित्र र साथीभाइहरु जन्ती आएका थिए । उक्त विवाहकी दुलही करिश्मा अधिकारीको घर हाकिमचोक हो । उनको बिहे रिसोर्टबाट भएको थियो ।
भोज खाएर बिरामी परेकाहरुलाई ज्वरो आउने, पखाला लाग्ने, पेट दुख्नेलगायतका समस्या भएपछि अस्पताल भर्ना भएका हुन् ।
विवाह भोजमा करिब पाँच सय जनाले खाना खाएका थिए । मासु खाएकाहरु सबै जना बिरामी भएको र त्यसमध्ये ३० जना नेशनल सिटी अस्पतालमा भर्ना भएको जनाइएको छ ।





















