चितवन – नेपालमा परिवार नियोजनको सेवा नपाउँदा असुरक्षित गर्भपतनको संख्या उच्च पाईएको छ ।
हाल नेपालमा परिवार नियोजनको आवश्यकता भएर पनि २४ प्रतिशत महिला सेवाबाट बञ्चित हुने गरेको तथ्याङ्क छ । स्वास्थ्य लाइभले जिल्ला स्वास्थ्य कार्यालय चितवनमा गरेको असुरक्षित गर्भपतन र जनस्वास्थ्य नीति निर्माण सम्बन्धि अन्तरक्रियामा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रोफेसर डा. श्याम लम्सालले बिशेष गरी ग्रामीण क्षेत्रका महिलाहरु परिवार नियोजनको सेवाबाट बञ्चित हुने गरेको बताए ।
असुरक्षित गर्भपतनको कारक मध्ये यो पनि एक रहेको उनले बताए । परिवार नियोजनको पहुँचमा नपुग्दा नचाहदा नचाहदै पनि अनिश्चित गर्भ बस्दा गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । उनीहरुले सूचीकृत नभएका र तालिम नलिएका अदक्ष जनशक्तिबाट असुरक्षित गर्भपतन गराउने गरेको डा. लम्सालले बताए ।
‘परिवार नियोजनलाई सबै भन्दा बढी प्रभावकारी बनाउनपर्छ । परिवार नियोजनको पहुँचमा नपुग्दा नचाहिएको गर्भ बस्न जान्छ । अनी उनीहरुले अदक्ष जनशक्तिबाट गर्भपतन गराउदा जोखिम बढी हुन्छ’, उनले भने ।
प्रजनन उमेरका विवाहित महिला मध्ये ४३ प्रतिशतले मात्रै परिवार नियोजनको साधन प्रयोग गर्ने गरेका छन् । गर्भधारणको चाहना नभए पनि प्रजनन उमेरका करिब ४४ प्रतिशत महिलाले परिवार नियोजनको सुरक्षित र आधुनिक तरिकाहरु प्रयोग नगर्ने गरेको तथ्याङ्क छ ।
कानुनी रुपमा नै गर्भपतन गराउन पाईन्छ भन्ने चेतनाको कमीका कारण पनि असुरक्षित गर्भपतनको संख्या उच्च पाईएको उनले बताए । निर्धारित योग्यता पुगेका इजाजतप्राप्त स्वास्थ्यकर्मीसँगको रायमा महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भपतन गराउन पाउने एेनले ज्यान सम्बन्धी महलको २८ (ख) मा व्यवस्था गरेको छ ।
जबरजस्ती करणी वा हाडनाता करणीबाट गर्भ रहन गए १८ हप्तासम्मको गर्भपतन गर्न सक्ने कानुनी व्यवस्था छ । तर कानुनी व्यवस्थाको बिषयमा जानकार नहुँदा तथा चेतनाको कमीका कारण लुकीछिपी असुरक्षित रुपमा अदक्ष जनशक्तिबाट गर्भपतन सेवा लिने बढेको उनको भनाइ छ ।
भरतपुर अस्पतालका वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सुनिलमणी पोख्रेलले परिवार नियोजन सेवालाई प्रभावकारी बनाउन सके मात्रै असुरक्षित गर्भपतन कम गर्न सकिने बताए । यस्तै अझि पनि धेरै महिलालाई सुरक्षित गर्भपतन गराउन पाईन्छ भन्ने थाहा नै नभएको पनि उनले बताए । यस कारण जटिल अवस्थामा मात्रै अस्पताल आउने र गर्भवती महिलाको ज्यानै जान सक्ने जोखिम बढी हुने डा. पोख्रेलको भनाइ छ ।
असुरक्षित गर्भपतनबाट गर्भपतन पुर्णरूपमा नहुने, बढी रक्तश्राव,पाठेघर वा पुरै शरीरमा संक्रमण हुन सक्ने, मृगौला खराब हुने, पाठेघरमा प्वाल पर्न सक्ने जस्ता असर देखिने सक्ने उनले बताए । नेपालमा सुरक्षित गर्भपतनका लागि एक हजार पाँच सय स्वास्थ्य संस्था सूचीकृत छन् ।
यस्तै सुरक्षित गर्भपतनका लागि आठ वटा मात्रै औषधि स्वीकृत प्राप्त छन् । तर बजारमा ६० भन्दा बढी औषधि पाइने गरेको छ । त्यस्ता कम गुणस्तरका औषधि प्रयोगले पनि असुरक्षित गर्भपतनको जोखिम बढाउने गरेको सरोकारवालाहरुको तर्क छ ।





















