इलाम / १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक विजेता खेलाडी छिरिङ गुरुङ र कास्य पदक विजेता विजय बुर्जालाई सन्दकपुर गाउँपालिकाले सम्मान गरेको छ।सन्दकपुर–५ जमुनाका नेपाली पुरुष फुटबल टोलीका डिफेन्डर छिरिङलाई ५० हजार र वडा नम्बर ३ सुलुबुङका बुर्जालाई २० हजारसहित सम्मानपत्र प्रदान गरिएको हो।
उनीहरुलाई जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले नगद सहित खादा र सम्मानपत्र प्रदान गरेका थिए।सम्मान कार्यक्रममा विजय अनुपस्थित भएपछि उनको परिवारले सम्मान ग्रहण गरेका थिए। त्यसैगरी वातावरण संरक्षणको क्षेत्रमा योगदान दिएको भन्दै भेडिचोक सामुदायिक वनले ५० हजार रुपैयाँ सहित सम्मान गरिएको छ। यस्तै, पाँचवटै वडाका उत्कृष्ट उपभोक्ता समिति र र विकास निर्माणमा उत्कृष्ट कार्य गरेको सुसन निर्माण सेवालाई सम्मानपत्र सहित सम्मान गरिएको छ।
त्यस्तै सन्दकपुर गाउँपालिकाको वृत्तचित्र निर्माण र समाचारको माध्यमबाट प्रचारपसार गरेको भन्दै पत्रकार सुजन तिमसिनालाई नगद १० हजारसहित सम्मान गरिएको छ।
तिमसिनाको निर्देशनमा निर्माण भएको सन्दकपुर गाउँपालिकाको वृत्तचित्रले आर्थिक वर्ष २०७५/७६ मा विल राइज फाउन्डेसनको प्रतियोगितामा मस्ट पोटेन्सियल डेस्टिनेशन अवार्ड पाएको थियो।





















