काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३२ समानुपातिक सांसदको नाम टुंगो लगाएको छ ।
प्रतिनिधिसभाको समानुपातिकमा ३२ सिट पाएको कांग्रेसमा ३ जना पुरुष को को पठाउने भन्ने विवाद थियो ।
संंघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य भएकाले कांग्रेसले ३२ मध्ये २९ जना महिलाको नाम पठाउनुपर्ने थियो । सूची बनाउँदा नै क्रम मिलाएकाले यसमा धेरै विवाद थिएन ।
महामन्त्री गगन थापाले अनुसार कांग्रेसले खसआर्यको पहिलो नम्बर रहेका डा।प्रकाशशरण महत, मधेसीको पहिलो नम्बरमा रहेका विमलेन्द्र निधि र दलितको पहिलो नम्बरमा रहेका जीवन परियारलाई सांसद बनाउने निर्णय भएको छ।
आदिवासी जनजातिको पहिलो नम्बरमा रहेका गोपालमान श्रेष्ठ, थारुको पहिलो नम्बरमा रहेका योगेन्द्र चौधरी, मुस्लिमको पहिलो नम्बरमा रहेका फरमुल्लाह मन्सुरलाई रोकेर कांग्रेसले महत, निधि र परियारलाई मौका दिएको छ ।
आरजु र मञ्जु दुबै सांसद
महिला समानुपातिकतर्फ प्रधानमन्त्री पत्नी आरजु देउवा राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु सांसद भएकी छन् । कांग्रेसले खस आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावललाई छानेको छ । प्रसाईं, गौतम र रावल संस्थापन इतर पक्षका हुन् भने बाँकी देउवा समूहका हुन् ।
आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी वोखिम (लिम्बू ), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठको नाम टुंगो लागेको छ। बोखिम, राजभण्डारी र थापा मगर संस्थापनइतर समूहका हुन् ।
दलितबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन भएका छन् । सीता संस्थापनइतरका हुन् ।
मधेशीमा नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल छानिएका छन् । मुक्ता संस्थापन इतरकी हुन् ।
यस्तै, मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसदका लागि छानिएका छन् ।





















