काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघको आगामी साधारणसभा तथा चुनाव स्थगित गर्ने निर्णयप्रति वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्र ढकाल र उनको प्यानलले आपत्ति जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको साधारणसाभा तथा चुनाव स्थगित गर्ने निर्णय भएपछि खुलेरै असन्तुष्टि जनाएको चन्द्र ढकाल समुहले कार्यसमितिको बैठक माग गरेको छ। चुनाव स्थगन तथा सार्नका लागि केन्द्रीय कार्यकारिणी समितिबाट निर्णय गर्नुपर्ने भन्दै उनीहरुले कार्यसमितिको बैठकको माग गरेका हुन्।
बस्तुगत तर्फका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल समुह निकटले तत्कालै कार्यसमितिको बैठक माग गर्दै लिखि तरुपमै निबेदन पेश गरेको छ। उक्त मागपत्रमा ढकाल निकट २१ सदस्यले हस्ताक्षर गरेका छन्।
महासंघको शुक्रबारको बैठकले सरकारले गरेको निर्णयलाई साथ दिंदै अर्को व्यवस्था नहुँदासम्मलाई निर्वाचन नगर्ने र अवधि लम्बिए अर्को मोडालिटीबाट निर्वाचन गर्ने निर्णय गरेको माइन्युटमा उल्लेख छ। तर महासंघको साउन २६ र २७ गतेका लागि तोकिएको ५४ औं साधारणसभा तथा चुनाव स्थगित गर्ने गरेको निर्णय प्रति फरक मत राख्दै आपत्ति जनाएको छ ।
शुक्रबारको बैठकलाई लिएर नोट अफ डिसेन्ट लेखेका ढकालले पदाधिकारी समितिबाट मात्र चुनाव सार्ने निर्णय गरिएको र जनस्वास्थ्यको लेपन दिएर नियोजित स्वार्थ पूरा गर्न खोजिएको आरोप लगाएका छन्।
तर लकडाउनका बेला महासंघको पदाधिकारीको जुम मार्फत गरिएको बैठकले पदाधिकारी र अध्यक्षले गरेको निर्णयलाई मान्यता दिने निर्णय गरेकाले शुक्रबारको बैठकले गरेको निर्णय कानुन सम्बत भएको एक कार्यसमिति सदस्यले बताए।
चुनाव धेरै पर सर्ने अवस्था भए फरक मोडालिटीबाट चुनाव गर्ने निर्णय हुँदाहुँदै पत्रकार सम्मेलन गरेर महासंघलाई राजनीतिक अखडा बनाउन खोजियो’ उनले भने, सबै कुरा स्पष्ट हुँदा हुँदै पनि ढकाल समुहले माइन्युटको मर्म बुझेन’।





















