काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले गठबन्धनबाटै नयाँ सरकार बन्ने बताएका छन्। काँग्रेस नेता गुरूराज घिमिरेले लेखेको पुस्तक ‘बाटो बिराएको राजनीति’ को आज विराटनगरमा आयोजित विमोचन समारोहमा उनले यस्तो बताएका हुन्।
‘सरकार गठबन्धनकै बन्छ। गठबन्धनको सरकार बनाउने भनेर हामीहरू निर्वाचनमा गएको हो। बहुमत पनि आएको छ,’ थापाले भने, ‘गठबन्धनको सरकार बन्नेमा कुनै सन्देह छैन। अहिले पनि केन्द्र र प्रदेशमा गठबन्धनकै सरकार छ।’
तर गठबन्धनको सरकार बन्दा नेताहरूले निजी कम्पनीजस्तो गरी भागबन्डामा चलाउन सक्ने खतरा रहेको पनि उनले बताए। त्यस्तो भागबन्डामा अलमलिने सरकार बनेमा जनताका काम नहुने उनको भनाइ थियो।
उनले नयाँ सरकार बन्दा के काम गर्ने हो भन्ने स्पष्टता, प्रतिवद्धता र पात्रसमेत उत्तम चाहिने बताए।
थापाले अबको ५ वर्षपछि प्रदेश सरकार रहने वा नरहने भन्ने प्रष्ट हुने पनि बताए। ‘प्रदेशले ५ वर्षभित्रमा आफ्नो औचित्य पुष्टि गर्न सकेन भने प्रदेश हामीले बचाएर बच्दैन, जनस्तरबाटै आवाज उठिहाल्छ,’ उनले भने।





















