काठमाडौं। सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले सरकार गठनका लागि विभिन्न विकल्पहरू खुला रहेको स्पष्ट पारेको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेको माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए।
बैठकमा नेताहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षा अनुसार नआएको टिप्पणी गरेका थिए। बैठकका निर्णयबारे जानकारी दिँदै महराले भने, ‘निर्वाचनको प्रारम्भिक समीक्षा गरियो। अपेक्षा गरिए अनुसार हामीले संघमा सिट हासिल गर्न सकिएन भन्ने समीक्षा भयो।
समग्रमा चुनावको सबै परिणाम आएपछि मात्रै गर्ने कुरा गरियो। दोस्रो, बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन। र, अन्य अपसन पनि खुला राखिएको छ। विभिन्न विकल्पमा जान सकिन्छ। तर, पुरानो गठबन्धनलाई छोड्ने, तोड्ने निर्णय पनि गरिएको छैन।’
उनले बैठकमा सत्तारुढ गठबन्धन छोड्ने सोचमा पनि पार्टी नरहेको बताए। सोमबार (भोलि) अपराह्न २ बजे पनि पदाधिकारी बैठक बोलाइएको र त्यसले निर्वाचनको समग्र विषयमा समीक्षा गरेर अघि बढ्ने निर्णय लिने पार्टीका महासचिव देवप्रसाद गुरुङले बताए।
केही दिन अगाडि एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका थिए। त्यसबेला ओलीले बसेर छलफल गर्ने प्रस्ताव गरेका थिए।





















