काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री मात्रिका यादवले केपी ओलीको नेतृत्व रहेसम्म एमालेसँग मिल्न जानु राम्रो नहुने बताएका छन् ।
चुनावको समीक्षाका लागि शनिवार बोलाइएको पदाधिकारी बैठकअघि पत्रकारहरूसँग कुरा गर्दै नेता यादवले अहिलेको अवस्थामा गठबन्धनबाटै प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताए ।
यादवले भने, ‘अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभयो भने देशको कल्याण हुन्छ,उहाँसँग त्यो क्षमता छ । अहिले त्यो परिस्थिति बन्दै छ र गठबन्धनबाटै हुने भएकाले अरू कसैको काँधमा चढ्नु पर्दैन ।
जहाँसम्म एमालेले अफर गरेको कुरा छ,त्यो अवसरवादी अफर हो । ओलीको नेतृत्व रहेसम्म एमालेसँग जानु राम्रो हुन्न ।’





















