काठमाडौं । काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन आएपछि थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी बस्तीका स्थानीय प्रदर्शनमा उत्रिएका छन् ।
सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ । वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् ।
घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका सुकुम्बासीबस्तीका स्थानीयले गृहमन्त्री एवं महानगरका मेयरविरुद्ध चर्को नारावाजी गरिरहेका छन् ।
थापाथलीस्थित वाग्मती नदी किनारमा सुकुम्बासी बस्तीका स्थानीयसँगको झडप हुँदा महानगरका प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित १४ जना घाइते भएका छन् ।
स्थानीयले ढुंगामुढा प्रहार गर्दा नगर उपरीक्षक पाण्डे सहित १४ जना प्रहरी घाइते भएको काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए । घाइतेहरूको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र महानगरको टोली बस्तीका एक्स्का भेटर लिएर घर टहरा भत्काउन पुगेपछि स्थानीयले ढुंगामुढा प्रहार गरेका थिए ।





















