काठमाडौं / डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख (डिएफओ) रामबाबु साह ५ लाख ५३ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
घुस वापदको रकम लिएर रौतहटतर्फ जाँदै गरेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उनी र श्रीमती किरण साह लाई पनि शुक्रबार पक्राउ गरेको हो ।
अख्तियारको टोलीले डिभिजन वन कार्यालयकै बा.२झ. ४१० नम्बरको गाडीमा उक्त रकम लुकाएको अवस्थामा साह र पत्नी किरण साहलाई समातेको हो । उक्त घुस दिने व्यक्ति या संस्थाबारे अनुसन्धान भइरहेको अधिकारीले बताए ।
प्रवक्ता अधिकारीका अनुसार घुस वापद लिएको उक्त रकम पत्नीको साथबाट बरामद भएको हो । उनीहरुलाई घुस लिएर रौतहटतर्फ जाँदै गरेको भन्ने उजुरीको आधारमा उनीहरुलाई कोशी गाउँपालिका ८ सुनसरीबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।





















