चितवन – चितवन निर्वाचन क्षेत्र २ (क) प्रदेशसभा सदस्यका उमेदवार वागमति प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रि माननीय घनश्याम दाहाल (अविनाश) ले जनताको समृद्धिको आकांक्षालाई वाम–लोकतान्त्रिक गठबन्धनले पुरा गर्ने प्रतिवद्धता जनाएका छन्।
सोमबार नारायणगढ बजारको लिला चोकमा मुस्लिम समुदायहरुसँगको भेलालाई सम्वोधन गर्दै मन्त्री दाहालले सत्ता स्वार्थका लागि नभएर राष्ट्रिय आवश्यकताले वाम–लोकतान्त्रिक गठबन्धन बनेको भन्दै समृद्धिको जनआकांक्षा आफूहरुले पूरा गर्ने बताएका हुन्।
प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलबीच रहेको गठबन्धन कायम रहने जानकारी दिँदै उनले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमन बीचको प्रतिस्पर्धा हुने उल्लेख गरे ।
सत्ता गठबन्धनले निर्वाचनमा अत्यधिक बहुमत ल्याउने दाबी गर्दै उनले राष्ट्र निर्माण, लोकतन्त्र रक्षा र जनताको समृद्धिको चाहना पूरा गर्ने बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रलाई समाप्त गर्न खोजेको बताउदै उनले देशलाई प्रतिगमनबाट मुलुकलाई बचाउन निर्वाचनमा गठबन्धन एक ढिक्क भएको बताए ।
चितवन निर्वाचन क्षेत्र २ (क) मा आफूले सुरू गरेका कयौं परियोजना निरन्तरताका लागि उम्मेदवार बनेको उनले बताए। मन्त्री दाहालले आफ्नो निर्वाचन क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताए। सम्पदा क्षेत्रका जनताले पर्यटनबाट प्रत्यक्ष लाभ लिने वातावरण बनाउन स्थानीयवासीलाई सीपमूलक तथा आयआर्जनका कार्यक्रममा सामेल गरिने उनले बताए ।
त्यस्तै भेलामा नेकपा माओवादी केन्द्र का वागमति प्रदेश सचिवालय सदस्य , चितवन जिल्ला सह ईन्चार्ज रामध्वज डल्लाकोटी, नेकपा माओवादी केन्द्र बाट बागमति प्रदेश सभाका समानुपातिक उमेदवार ईश्वर सापकोटा (सुमन) लगायतका नेताहरु सहभागी थिए ।





















