चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन देशका लागि अभिषाप भएको बताएका छन् ।
आज (सोमबार) एमाले चितवनले भरतपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले फेरि गठबन्धनको सरकार आए देश बर्बाद हुने बताएका हुन् ।
उनले देशलाई लोकतन्त्रको बाटोमा अघि बढाउन देशमा एमालेको सरकार आउनुपर्ने बताए ।
‘गठबन्धन देशका लागि अभिषाप हो । गठबन्धनले जित्यो भने देश बर्बाद हुन्छ’, उनले भने । ओलीले गठबन्धन हाँडी को चोइटा भएको अभिव्यक्ति समेत दिए ।
उनले गठबन्धनलाई म्याद गुज्रिएको औषधिको संज्ञा समेत दिए । ‘यो गठबन्धन आउट डेटेड नक्कली औषधि हो । कहिल्यै काम नलाग्ने । बाहिरपट्टी म्याद त छाप्नुपर्छ । त्यो पनि आउट डेटेड’, ओलीले भने ।
यस्तै उनले गठबन्धनको सरकार नबन्नेमा ढुक्क हुन आग्रह गरे । गठबन्धन भित्र भित्रै लडेर चार तिर फर्केर बसेको उनले बताए । ‘यसपाली कठपुतली सरकार आउनुहुन्न । गठबन्धनको सरकार बन्दै बन्दैन । बने पनि टिक्दैन, उनले भने, ‘एउटा उत्तर फर्किएर बसेको छ । अर्को, दक्षिण, पूर्व पश्चिम फर्किएको छ ।’
ओलीले गठबन्धनका दलहरु आफ्ना, आफ्ना आफ्ना घोषणापत्रमा चलेकोले ढाँट्ने बाटो मात्र भएको बताए । ‘एउटा भन्छ, प्रत्यक्ष राष्ट्रपति, निर्वाचित राष्ट्रपति, अर्काै दल अर्काे भन्छ , घोषणापत्रमा घोषणापत्र बाँझिएको छ भने यिनीहरुले के गर्छन्’, उनले भने ।
उनले देश बनाउने मार्गचित्र एमालेको गन्तव्य भएको बताए । उनले एमालेका उम्मेदवार तथा एमालेले समर्थन गरेका उम्मेदवारलाई मतदान गर्न चितवनबासीलाई आग्रह गरे ।





















