चितवन – आगामि मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरुले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।
उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगेर मत माग्न व्यस्त छन् । चितवन निर्वाचन क्षेत्र नम्बर २ (क ) का प्रदेश सभा सदस्यका उम्मेदवार घनश्याम दाहाल अविनाश फरक ढङ्गबाट प्रस्तुत भइरहेका छन् । उनी आफ्नो पक्षमा मत माग्नुका साथै मतदाताको समस्या र गुनासो सुन्न व्यस्त छन् । उनी हरेक मतदाताको घरमा पुगेर गुनासो र समस्या सुनिरहेका छन् ।
चुनावको समयमा जनताको घर दैलोमा पुगेर मत माग्ने मात्रै नभई उनीहरुको समस्या र गुनासो पनि सुन्नु पर्ने दाहाल बताउँछन् ।
‘चुनावमा भोट् माग्न गएर मात्रै हुँदैन । मतदाताको समस्या र गुनासो पनि सुन्नुपर्छ’, दाहाल भन्छन्, ‘अहिले समस्याहरु सुनिरहेको छु । निर्वाचित भएर गएपछि समाधानतर्फ अघि बढ्छु । म मत मात्रै होइन जनताको मन पनि जित्छ चाहन्छु ।’
भरतपुर महानगरपालिका वडा नम्बर २९ को सिमलताल डुम्रे , बाग्गेसाल , लामागाउँ मा घर दैलोको क्रममा जनताबाट नीतिगत भ्रष्टचारको गुनासो बढी आउने गरेको उनी बताउँछन् । चुनाव जित्न घर घर पुग्ने नेताहरु निर्वाचनपछि गायब हुने गरेको भनी गुनासो पनि मतदाताबाट उत्तिकै आउने गरेको उनी सुनाउँछन् ।
उनका अनुसार सुशासन, बेरोजगारीको गुनासो पनि जनताले उत्तिकै सुनाउने गरेका छ्न् । जनताले भोगिरहेको समस्या समाधानका लागि कदापी पछि नहट्ने उनको प्रतिवद्धता छ । आफू काम गर्नका लागि नै निर्वाचनमा होमिएकोले जनतासँग गरेको प्रतिवद्धता पुरा गरेरै छाड्ने उनी बताउँछन् ।

त्यस्तै भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्र बाट बागमति प्रदेश सभाका समानुपातिक उमेदवार ईश्वर सापकोटा सुमन लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।





















