चितवन : प्रतिनिधिसभा सदस्य पदका लागि वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट चितवन क्षेत्र नम्बर २ को साझा उम्मेदवार उमेश श्रेष्ठले कालिका नगरपालिकामा हरित औद्योगिक क्षेत्र बनाएर उत्पादन र रोजगारी बृद्धि गर्ने आफ्नो योजना रहेको बताउनुभएकाे छ । ‘यो क्षेत्रलाई हरित औद्योगिक क्षेत्र बनाएर उत्पादन तथा रोजगारीमा बृद्धि गर्नेछु ।’ श्रेष्ठले भन्नुभयाे ।
आइतबार चुनावी घरदैलो कार्यक्रम अन्तर्गत कालिका नगरपालिका वडा नम्बर १, २, ४ र ५ मा मतदाताहरुसँगको कुराकानीका क्रममा श्रेष्ठले हरियालीपूर्ण औद्योगिक क्षेत्रको विकास गरी एकातिर बेरोजगारीको अन्त्य र उद्योगको विकास गर्दै पर्यटन प्रवद्र्धन गरी आयआर्जन समेत गर्न सकिने उहाँले बताउनुभयाे। यसका लागि यहांँको सडकको पूर्वाधारको खांँचो हुने उहाँको भनाई थियो । उहाँले आफूलाई मतदाताले विश्वास गरी निर्वाचन जिताउन आग्रह गर्नुभयाे।
सो अवसरमा बोल्दै प्रदेश २ क का प्रदेश सभासदस्य घनश्याम दाहालले आफूले यसअघि प्रदेश सांसद भएर कालिकाको मुहार फेरिसकेको बताउंँदै अधुरा काम सम्पन्न गर्न पनि गठबन्धनको जित आवश्यक रहेको बताउनुभयाे।
यसैबीच, नेपाल सरकारका राज्यमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य श्रेष्ठले आइतबार नै भरतपुरमा चितवन क्षेत्र नम्बर २ वाम–लोकतान्त्रिक गठबन्धन दलहरुको संयुक्त विद्यार्थी भेलालाई सम्बोधन गरेका छन् ।
उहाँले विद्यार्थीहरुलाई सम्बोधन गर्दै शिक्षा नै सर्वोपरि भएकोले सामुदायिक शिक्षाको विकासमा आफूले योगदान गर्न चाहेको बताउनुभयाे । उहाँले शिक्षाको विकास विना देशको आर्थिक समृद्धिको यात्रा समेत अधुरो हुने बताउनुभयाे।





















