काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवसको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई सबै खालका भड्कावहरुबाट जोगाउँदै पुष्पलालले स्थापित गरेका मानकहरु सधैं मार्गदर्शनका रुपमा रहेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवस आज (बुधबार) विभिन्न रुपमा मनाइँदै छ । १९८१ साल असार १५ गते रामेछापमा जन्मिएका पुष्पलालको निधन २०३५ साल साउन ७ गते भारतमा भएको थियो ।
दुई ठूला कम्युनिष्ट पार्टी मिलेर एउटै नेपाल कम्युनिष्ट पार्टी निर्माण गरेर संस्थापक महासचिव पुष्पलालको सपनालाई साकार मात्र नपारेको बताउँदै नेता नेपालले नेपाली जनताको मुक्ति आन्दोलनलाई गुणात्मक रुपमा एक कदम अघि बढाउन ठोस योगदान समेत दिएको बताएका छन् ।
संस्थापक महासचिव कमरेड पुष्पलाललाई स्मरण गरिरहेको यस घडीमा हामीले नेपाल कम्युनिष्ट पार्टीलाई अझै बलियो, एकताबद्ध, संस्थागत, विधि–पद्दतिमा आधारित, जनतासँग अझै घनिष्ट, परिवर्तनको मार्गमा दृढ र वैचारिक रुपमा स्पष्ट बनाउन आवश्यक छ, नेपालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
नेता नेपाल थप लेखेका, ‘कम्युनिष्ट पार्टी कुनै व्यक्तिको ‘अलौकिक’ वा ‘चमत्कारिक’ नेतृत्वमा विश्वास गर्ने संस्था नभई सामुहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने एक क्रान्तिकारी संस्था भएकाले यसलाई त्यहीअनुसार कमिटी प्रणालीका आधारमा चलाउनु पर्छ भन्ने मान्यतालाई हामीले दृढतापूर्वक व्यवहारमा लागु गर्नुपर्छ ।
अर्काको अस्तित्व स्वीकार नगर्ने र ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने भावनाले कम्युनिष्ट आन्दोलनलाई हिजो विभाजनबाट थिलोथिलो बनाएको कटु यथार्थ भोग्दै हामी यहाँसम्म आइपुगेका छौं ।
आज पनि कहींकतै त्यस्ता गलत, व्यक्तिवादी र गैरकम्युनिष्ट प्रवृत्तिहरु देखा पर्दछन् भने त्यसका विरुद्ध दृढतापूर्वक उभिनु सबै इमानदार नेता–कार्यकर्ताको कर्तव्य हुन्छ ।’ पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहेका नेता नेपालले पुष्पलालका आदर्शहरुलाई दृढतापूर्वक पछ्याइरहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
उनले नेपाल कम्युनिष्ट पार्टीलाई अझै बलियो र विधि–पद्दतिमा आधारित बनाउन आवश्यक रहेकामा जोड दिएका छन् ।





















