काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी ४ मंसिरको चुनावमा सत्ता गठबन्धनले नजिते देश दुर्घटनामा पर्ने दाबी गरेका छन्।
धनगढीमा आइतबार आयोजित सत्ता गठबन्धनको कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रममा प्रचण्डले उक्त कुरा बताएका हुन्।
उनले भने, ‘नेतृत्व तहमा केन्द्रीय नेताहरू एक छौं। हामी प्रदेशका गठबन्धनका साथीहरूसँग साथमै छौं भन्न आएका हौं। गठबन्धनको जित पक्का गर्नुपर्छ भन्ने अपिल गर्ने हाम्रो उद्देश्य हो।
एउटा विशिष्ट परिस्थितिमा यो गठबन्धन बनेको हो। संविधान, गणतन्त्र र व्यवस्थै धरापमा परेको थियो।’
आफूहरूको उद्देश्य देशमा विकास र समृद्धिको अभियान चलाउनु रहेको उनले बताए। ‘अहिले देशमा अर्को पनि गठबन्धन आएको छ। त्यसको अलग उद्देश्य छ, संस्कृति छ,’ प्रचण्डले भने, ‘अर्को गठबन्धनले संविधान बदलेर गणतन्त्र उल्ट्याउन खोजिरहेको छ। त्यो गठबन्धन दलका अनुहार हेर्नुभएकै होला। राजतन्त्रलाई पुनः स्थापना गर्ने उद्देश्य राखेकाहरूको गठबन्धन छ।’
प्रचण्डले संविधान च्यात्नेहरूको गठबन्धन अर्कातिर भएकाले सचेत हुन आग्रह गरे। उनले सत्ता गठबन्धनले ४ मंसिरको चुनाव नजिते देश दुर्घटनामा जाने बताए । उनले भने, ‘हामी कमजोर हुनु भनेको देश दुर्घटनामा जाने खतरा बढ्नु हो। त्यसैले हामीलाई जिताउनुस् । हामीले राजनीतिक परिवर्तन ल्याएर त्यसलाई दिगो बनाउन सकेनौं।
सुशासन ल्याउन नसक्दा देशमा अस्थिरता आएको छ। अब हामीले मंसिरमा चुनाव जितिसकेपछि देशमा आर्थिक क्रान्ति ल्याउँछौं।’





















