चितवन । नेपाल सरकारका राज्यमन्त्री एवं चितवन क्षेत्र नम्बर-२ का प्रतिनिधि सभा सदस्य उमेश श्रेष्ठले विपन्नलाई शिक्षा र स्वास्थ्यको पहुँचमा पुर्याउने बताएका छन्।
शुक्रबार ईच्छाकामना गाउँपालिका विकट ठाउँहरुमा मतदाता भेटघाट गर्ने क्रममा उनले शिक्षा र स्वास्थ्यको पहुँच विना उनीहरुको जीवनस्तर उकास्न नसकिने बताएका हुन्।
ईच्छाकामनामा अन्य ठाउँका हिसाबले पछाडि परेकोले आफूले निर्वाचन जितेपछि यहाँ विपन्न समुदायलाई आयआर्जनका कार्यलाई जोड दिने उनले बताए।
‘मैले शिक्षा क्षेत्रमा हजारौ विद्यार्थीलाई उज्यालो छरेको मान्छे अब, म राजनीतिबाट विपन्नको शिक्षा र स्वास्थ्यमा पहुँच पुर्याउनेछु।’ उनले भने।गुणस्तरीय शिक्षा, स्वास्थ्य रोजगारीबाटनै गरीब, विपन्न समुदायको जीवनस्तर उकासिने बताउँदै उनले आफूलाई मत दिए यस क्षेत्रको मुहार फेरिनेमा कुनै शंका नभएको बताए।
शिक्षा र स्वास्थ्यमा काम गरेर सफल भईसकेको बताउँदै उनले काम गर्ने मान्छेलाई भोट दिएर जिताउन उनले आग्रह गरे। ‘ हिजोका नेताले यहाँ के गरे मुल्यांकन गर्नुस्। मैले के गरे त्यो पनि तपाईहरुले देख्नु भएकै छ। म कम बोल्ने तर काम बढी गर्ने मान्छे हुंँ।’ श्रेष्ठले भने।
यहाँको युवा महिला, बृद्धबृद्धाले दुःख पाएकोले यहाँको लागि युवा महिला लक्षित बिशेष कार्यक्रम ल्याइने उनको भनाई थियो। ‘युवा महिलाकोहरुको लागि कृषि र रोजगारी , बालबालिका र बृद्धको लागि शिक्षा र गुणस्तरीय शिक्षाबाट परिवर्तन ल्याउने मेरो धोको छ।’ श्रेष्ठले भने।
शिक्षा स्वास्थ्य क्षेत्रमा आफूले ठूलो लगानी गरेको भन्दै पछिल्लो समय कृषि क्षेत्रमा अघि बढेको पनि उनले बताए। ‘अब यस्ता ठाउँमा कृषिको प्रवद्र्धन गर्नुपर्छ, उत्पादनको बजार व्यवस्थापन अहिलेको चुनौति र आवश्यकता हो र मेरो प्राथमिकता पनि हो।’ उनले भने।
आफू विपन्न गरिबको सेवा गर्न पाउँदा खुशी हुने भन्दै यो अवसर दिन उनले आग्रह गरे । भेटघाटका क्रममा ईच्छाकामनाको गरीब,विपन्न र चेपाङ समुदायले आफ्नो गाँस बास कपासको लागि सहज गरिदिन श्रेष्ठलाई आग्रह गरेका थिए। उम्मेदवार श्रेष्ठ पछिल्लो समय ईच्छाकामना गाउँपालिकामा घरदैलो र मतदाता भेट्ने काममा सक्रिय रहँदै आएका छन्।





















