काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी ओलीले सत्ता गठबन्धनमा आवद्ध दलहरूलाई कठपुतलीको संज्ञा दिएका छन्। झापाको धुलाबारीमा बुधबार आयोजित राप्रपासँगको संयुक्त चुनावी सभामा ओलीले गठबन्धन दलहरूलाई अरू कसैले चलाइरहेको र राप्रपा भने आफ्नै विवेकले चल्ने पार्टी भएको बताए।
‘गठबन्धन कुसुलेका कठपुतली हुन्, कसले नचाउँछ, थाहा छैन। राप्रपा देशका लागि विवेकले निर्णय गर्दछ,’ ओलीले भने, ‘वर्तमान सरकार दुई दिने घाम छायाजस्तै हो। म्यादी प्रहरीको भन्दा छोटो छ समय। मंसिर ४ आउनासाथ गठबन्धन सरकार गयो।’
ओलीले आगामी निर्वाचनमा एमालेले १५० सिट जित्ने दाबी गरे। एमालेले प्रत्यक्ष १०० र समानुपातिकमा ५० सिट जित्ने उनले तथ्यांक प्रस्तुत गरे। उनले काँग्रेससँग जनतालाई दिने एजेन्डा बाँकी नरहेको आक्षेप लगाए। उनले चुनावको मुखमा फ्री भिसा र फ्री टिकटको आश्वासन बाँड्ने केही नेताहरूलाई ठगको संज्ञा पनि दिए।
उनले ती ठगहरूलाई कारबाही गर्नुपर्ने पनि बताए। बारा-४ को प्रचार कार्यालयमा गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले उक्त क्षेत्रका युवाहरूलाई फ्री भिसा र टिकटको लोभ देखाएको ओलीको आरोप छ।





















