काठमाडौं। चितवन १ मा बागी उम्मेदवारी दिएका काँग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन्।
उम्मेदवारी फिर्ता लिने औपचारिक समय सकिसकेकाले उनले सोमबार विज्ञप्ति जारी गरेर आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेका छन्।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँगको भेटपछि बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन्। उनले आफूलाई पार्टीले महत्त्वपूर्ण जिम्मेवारी दिने बताएको समेत उल्लेख गरेका छन्।
उनले काँग्रेसका उम्मेदवार विश्व पौडेललाई जिताउन नेतृत्वदायी भूमिका खेल्ने समेत बताएका छन्।
उनले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘जीवनभर काँग्रेसमा गरेको त्याग, संघर्ष र मेहनेतका कारण स्वतन्त्र उम्मेदवार बनिरहन सकिनँ। पार्टीले मलाई सम्मानजनक भूमिका दिने विश्वास दिलाएकोले चितवन क्षेत्र नं. १ रहेको मेरा स्वतन्त्र उम्मेदवारी आजैका मितिदेखि निष्क्रिय पारेको छु।’






















