गोरखा / पार्टीको नीति र निर्देशन विपरीत स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका नेपाली कांग्रेसका कार्यकर्तालाई जिल्ला पार्टीले निश्कासित गरेको छ ।
बुधबार पार्टीले विज्ञप्ति जारी गर्दै साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निश्कासित गरेको जनाएको छ ।
पार्टीको तर्फबाट उम्मेद्वार बनेका र पार्टीले समर्थन गरेका उम्मेद्वार विरुद्ध उम्मेद्वारी गोरखा नगरपालिका ७ का रामशरण आचार्य र पालुङटार नगरपालिका ४ का गणेश देवकोटालाई पार्टीबाट निश्कासन गरिएको जनाएको हो ।
आचार्यले गोरखा क्षेत्र नं. १ प्रदेश सभा ‘क’ बाट गठबन्धन(माओवादी)बाट उम्मेद्वार बनेका कृष्ण धितालका विरुद्ध बागी उम्मेद्वारी दिएका थिए ।
त्यस्तै देवकोटाले गोरखा २ को प्रदेश सभा क बाट गठबन्धन(नेसपा)बाट उम्मेद्वारी दिएका फणिन्द्र देवकोटा विरुद्ध बागी उम्मेद्वारी दिएका थिए ।
उनीहरुलाई पार्टीको विधान २०१७ मा भएको व्यवस्था अनुसार पार्टी सदस्यबाट पाँचबर्षका लागि निश्कासन गरिएको प्रेस विज्ञप्ति मार्फत जनाइएको छ ।
बारम्बार उम्मेद्वारी फिर्ता लिन अनुरोध गर्दा पनि अटेरी गरेकाले निश्कासन गर्न बाध्य हुनु परेको पार्टीका अनुशसन समितिका संयोजक कृष्ण आलेले जानकारी दिए ।





















