काठमाडौं । नेकपा एमाले छाडेका नेता प्रभु शाहले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई धोका दिएको बताएका छन्।
टिकट वितरणमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका नेता शाहले पूर्व माओवादी नेताहरु एमालेमा कोही खुसी नभएको बताएका हुन्।
एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘माओवादीबाट एमालेमा आउनेहरु कोही खुसी छैनन्। बाहिर नभनेको अलग कुरा होला। तर, कोही खुसी त म देख्दिनँ। बादल र टोपबहादुरलाई कसले चिनेको थिएन र? देशले चिनेको फिगर हो। एमालेमा कुनै भूमिका छैन। एउटा उपाध्यक्ष बनाएको छ। पार्टीको निर्णय नै उहाँले मिडियाबाट थाहा पाउने हो।’
ओलीलाई दुख परेको बेला साथ दिँदा समेत वेवास्ता गरेको गुनासो गरे।
उनले थपे, ‘हामीले यस्तो त्याग गर्दा त ओलीजीलाई भएन। सायद प्रचण्डजीलाई पनि त्यही भएको होला। उहाँले छाड्नुभयो। तर, हामीले त चिनेनौँ। हामीले ओलीजीलाई दुख परेको बेलामा साथ दिएका थियौँ। तर, उहाँले धोका दिनुभयो।’





















