चितवन / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आथित्यमा शुभकामना कार्यक्रम सम्पन्न भएको थियो ।

प्रेस सेन्टर नेपालले जिल्ला समन्व्य समिती चितवनमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले आफू प्रधानमन्त्रीको रेसमा नरहेको भन्दै लोकतन्त्र, राष्ट्र र संविधानको रक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन् ।
आर्थिक विकास र समृद्धि आफ्नो प्राथमिकता भएको भन्दै उनले भने, “चाहेको भए विसं २०७४ को निर्वाचनपछि पाँचैँ वर्ष प्रधानमन्त्री हुने अफर मलाई थियो ।”
प्रधानमन्त्री मुख्य होइन भन्दै उनले राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकासको वातावरण बनाउने र आफूलाई त्यसका निम्ति समर्पित गर्ने प्रतिबद्धता रहेको बताए । आउँदो समय सम्वृद्धिको दशक भएको भन्दै उनले अबको क्रान्ति आर्थिक हुनुपर्छ भने ।

उनले भने, “जीवनको उत्तरार्धको बाँकी समय आर्थिक सम्वृद्धि र क्रान्तिका लागि लाग्छु ।” अर्बौका परियोजना कसरी नेपाल ल्याउन सकिन्छ र हामीकहाँ भएको प्राकृतिक साधन स्रोतको सही उपयोग गर्न सकिन्छ भन्नेमा आफ्नो ध्यान रहेको उनको भनाइ थियो ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ज्येष्ठ पत्रकारका लागि कल्याणकारी कोष, नेपाल पत्रकार महासङ्घको भौतिक पूर्वाधारमा सहयोग, तालिम केन्द्रका लागि जमिन, लोककल्याणकारी विज्ञापन, लेखन वृद्धिका लागि बजेट लगायतमा महानगरले सहकार्य गरेको बताइन् ।

कार्यक्रममा (नेकपा एमाले) चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी, नेपाल कम्युनिष्ट पार्टी समाजवादी चितवनका उपाध्यक्ष अरुणपीडित भण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
विजयादशमी, शुभ–दिपावली, नेपाल सम्वत् ११४३ तथा छठ पर्वको अवसरमा प्रेस सेन्टर नेपाल, जिल्ला शाखा चितवनले आज भरतपुरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमको स्वागत मन्तव्य अजिता अधिकारीले गर्नु भएको भने कार्यक्रमको सञ्चालन प्रकाश ज्ञवालीले गर्नु भएको थियो ।






















