काठमाडौं । सरकारसँगको १० बुँदे सहमतिपछि डाक्टर गोविन्द केसीले अनशन तोडेका छन् ।
विभिन्न माग सहित अनशनमा बसेका डा. केसीसँग सरकारको वार्ता टोलीका सदस्यहरूले आज बेलुका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर सहमतिपत्रमा हस्ताक्षर गरेपछि उनले अनशन तोडेका हुन् । केसीका सहयोगी तथा वार्ता टोलीका सदस्य प्रितम सुवेदीले जानकारी दिए ।
केसीले बिरामी अमनलाल चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । पछिल्लो पटक कैलालीबाट अनशन सुरु गरेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई असोज ५ गते थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
केसीका माग सम्बोधन गर्न सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।
देशभरका सरकारी अस्पतालमा बेडअनुसार दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसङ्ख्या वृद्धिअनुसार अस्पताल–स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्स–रे लगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने, लगायतका माग सहित केसी २०औँ अनशनमा थिए ।





















