काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को कार्यकाल पूरा अवधिसम्म जोगाउन सफल भएको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा उनले अघिल्लो सरकारका असंवैधानिक कार्यबाट संविधान र लोकतन्त्रको रक्षा गर्न संसद् सफल भएको उल्लेख गरे।
प्रचण्डले भने, ‘प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष भए पनि अकाल मृत्यु भोग्नुपर्ने अवस्थाबाट जोगाएका छौं। अकाल मृत्यु भोग्नुपर्ने अवस्थामा सदन पुगेको थियो। त्यो अवस्थाबाट सदन बचेको छ। जनता, नागरिक समाजले सडक आन्दोलन गरेर र अदालतले संसद् जीवित गरायो।’
माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका अध्यक्ष प्रचण्डले पाँच वर्ष प्रतिनिधिसभा जसरी चल्नुपर्ने थियो त्यसरी चल्न नसकेको बताए। ‘यो पाँच वर्ष जसरी व्यतित हुनुपर्दथ्यो। त्यो हुन सकेन।
दुई पटक संविधान विघटन भयो। सात महिना चलेन,’ उनले भने, ‘संविधानअनुसार स्थायी र समृद्धिको यात्रा अगाडि बढ्ने अपेक्षा गरिएको थियो। तर दुर्भाग्य त्यस्तो भएन। तीन वर्ष नपुग्दै तत्कालीन सरकार अगाडि जान सकेन।’
उनले अब भविष्यमा लोकतन्त्रको मान्यताअनुसार संसद् सञ्चालन हुनुपर्ने धारणा राखे। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने सबै राजनीतिक दलले लाग्नुपर्ने भन्दै जनताको फैसला सबैले स्वीकार गर्ने उनले बताए। अध्यक्ष प्रचण्डले आउने दिनमा संघीय लोकतान्त्रिक गणतन्त्र र समृद्धिका मुद्दामा राष्ट्रिय सहमति आवश्यक रहेको बताए।
उनले संविधानअनुसार अर्को सरकार बन्ने सम्भावना भए पनि संविधानको भावना, लोकतन्त्रको मान्यता विपरीत तत्कालीन सरकारले प्रतिनिधिसभा विघटन गरेको स्मरण गरे। उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको अन्तर विरोधलाई समाधान गर्न नसकेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए।
‘हामीसँग बहुमत थियो। पार्टीभित्र छलफल चलिरहेको थियो। तर केले उत्प्रेरित गर्यो उहाँलाई त्यतिबेलाको संसद् विघटन गर्नका लागि ?,’ प्रचण्डले भने, ‘तर उहाँले पार्टीभित्र मतभेद, अन्तर्विरोध हुन्छन्। ती समाधान हल गर्ने आफ्नै मान्यता हुन्छ। त्यहाँको विरोधलाई सार्वभौम थलो प्रतिनिधिसभालाई प्रहार गर्ने अधिकार ओलीलाई कसले दियो ?’
देशलाई ठूलो संवैधानिक संकटबाट बचाउन, लोकतन्त्रको रक्षा गर्न र अघिल्लो सरकारले असंवैधानिकरुपमा चालेका कदमलाई सच्याउन अहिलेको गठबन्धन सरकार बनेको उनको भनाइ थियो। गठबन्धन सरकारले जनताको भावनाअनुसार स्थानीय तहको निर्वाचन गरेको उल्लेख गर्दै अब संविधानअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न वर्तमान सरकार लागिपरेको बताए।
प्रचण्डले अछामलगायत देशभर बाढी पहिरोले क्षति भएकाप्रति दुःख व्यक्त गर्दै सरकारलाई तीव्र गतिमा राहत, पुनः स्थापना र उद्धारका काममा लाग्न ध्यानाकर्षण गराए। -रासस





















