काठमाडौं / सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकटका स्थायी कमिटी सदस्यहरुले पार्टीमा देखिएको विवाद जसरी पनि सुल्झाउन सुझाव दिएका छन् ।
सोमबार विहान प्रचण्डले आफू निकटका स्थायी समिति सदस्यलाई खुमलटारमा बोलाएर छलफल गरेका थिए ।
भेलामा पूर्वमाओवादी पक्षका १८ जना स्थायी समिति सदस्यमध्ये लेखराज भट्ट बाहेक बाँकी सबै सहभागी भएका थिए । गृहमन्त्री रामबहादुर थापा पनि बैठक सकिने बेलामा खुमलटार पुगेका थिए ।
बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो घटनाक्रम, अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँगको पछिल्लो छलफल लगायका विषयमा जानकारी गराएका थिए ।
बैठकमा प्रचण्डले अर्का अध्यक्ष ओलीसँग अहिलेसम्म कुनै सहमति नभएको बताएका थिए ।
पार्टी एकता कायम राख्नका लागि ओलीसँग सहमति गर्नुको विकल्प भने नभएको उनको भनाइ रहेको बैठकमा सहभागी एक नेताले बताए ।
‘ओलीसँग समझदारी गर्नुको विकल्प छैन’ प्रचण्डको भनाइ उदृत गर्दै स्रातले भन्यो ।
आफूहरुले भने पार्टी एकता कायम राख्दै अघि बढ्न सुझाव दिएको उनले बताए ।
जनताले अहिले पार्टी फुट नचाहेकाले समस्या समाधान गर्न आफूहरुले सुझाव दिएको उनको भनाइ थियो ।
‘जनताले फुट चाहेका छैनन्, त्यसलाई पार्टी नेतृत्वले विचार गर्नुपर्छ’ उनले भने,‘त्यसका लागि झगडा, समझदारी जसरी भएपनि समस्या समाधान गर्नुपर्छ भन्ने सुझाव हामीले दियौं । तर यो समस्या पदका लागि हुन हुँदैन ।’
पार्टीको विवाद नेतृत्व वा पदका लागि हो भन्ने म्यासेज जान नहुने सुझाव आफूहरुले दिएको उनको भनाइ छ ।
आफूहरुले स्थायी कमिटी बैठकमा तय भएका एजेण्डाहरुमा रहेर नै छलफल गरी निकास निकाल्न सुझाव दिएको उनको भनाइ थियो ।
छलफलमा प्रचण्डले मंसिरमा महाधिवेशनको प्रस्ताव अलमलमा पार्न ल्याइएको बताएका थिए । ‘प्रचण्ड मङ्सिरमा महाधिवेशन हुन सक्दैन भन्ने कुरामा प्रष्ट हुनुहुन्छ,’ छलफलमा सहभागी ती नेताले भने, ’कोरोना महामारी समाप्त भएको छैन भने अहिले बाढी पहिरोको प्रकोप रहेको छ । यस्तो बेलामा महाधिवेशनका लागि आवश्यक पर्ने विषयमा प्रवेश गर्ने अवस्था बन्न सक्दैन र मंसिरमा महाधिवेशन सम्भव छैन भन्ने बारे कुरा भयो ।’
शनिवारको सचिवालय बैठकमा अध्यक्ष ओलीले मंसिरमा महाधिवेश गर्ने प्रस्ताव गरेको थिए । जसलाई प्रचण्डले समर्थन गरेको बताइएको थियो ।
तर नेता माधव कुमार नेपालल लगायतले दुई अध्यक्ष मिल्दैमा नहुने भन्दै आपत्ति जनाएका थिए भने आइतबार नेता नेपालसँगको भेटमा प्रचण्डले आफूले कुनै सहमति नगरेको बताएका थिए ।
पार्टीमा विवाद जारी रहँदा स्थायी कमिटी बैठक लगातार जसो स्थगित हुँदै आएको छ ।





















