चितवन / चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडी नगरपालिका ९ स्थित कुसुम खोलाका २ वटा घरमा आगजनी गरेको छ । यस्तै अन्य ८ वटा घर हात्ती लगाएर भत्काइ दिएको छ ।
हिजो शनिबार गएको निकुञ्ज प्रशासन र नेपाली सेनानी टोलीले स्थानीयको दुई वटा घरमा आगजनी गर्नुका साथै ८ वटा घर हात्ती लगाएर भत्काइ दिएको हो । निकुञ्ज अतिक्रमण गरेर बसेको भन्दै प्रशासनले शनिबार घरमा आगजनी र घर हात्ती लगाएर भत्काइ दिएको हो । आगजनीबाट दुई वटा घर जलेर पुर्ण रुपमा नष्ट भएको माडी ८ का वडाध्यक्ष शिवहाँरी सुवेदीले जानकारी दिएका छन् ।
तसर्थ माडी नगरपालिकाले निकुञ्ज प्रशासनले गरेको यस प्रकारको व्यवहारप्रती गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आज (आइतबार) एक बिज्ञप्ती जारी गर्दै नगरपालिकाले निकुञ्ज प्रशासनले अमानविय व्यवहार गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
नगरपालिका कार्यालयले उक्त घटनाको भर्त्सना गरेको छ । २०५३ सालदेखी बसोबास गर्दै आएको बस्तीमा स्थानीय सरकार सरोकारवालासँग कुनै समन्वय नै नगरी आगजनी गर्ने र हात्ती लगाएर घर भत्काउने कार्य निकृष्ट र अमानविय भएको जारी बिज्ञप्तीमा उल्लेख छ ।
स्थानीय सुकुम्बासी चेपाङ्ग समुदायलाई स्थानान्तरणका लागि तयारी गरिरहेको समयमा निकुञ्जले घरमा आगो लगाउनुका र हात्ती लगाएर घर भत्काउनु निन्दनिय भएको बिज्ञप्तीमा भनिएको छ ।
उपयुक्त विकल्प बिना नै निकुञ्ज प्रशासनले लामो समयदेखी बसोबास गर्दै आएका सुकुम्बासी चेपाङ्ग समुदायमा हस्तक्षेप गरेर स्थानीयलाई घरबार बिहिन बनाएको भन्दै नगरपालिकाले उचित व्यवस्थापनका लागि सरकारसँग माग पनि गरेको छ ।
























