गोरखा / नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) ले मंसिरमा हुने निर्वाचनमा प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा माओबादी केन्द्रकै उमेद्वार हुने बताउनु भएको छ ।
२४ औं बासु स्मृतिसभामा सहभागी हुन आज गोरखा आइपुग्नु भएका उपाध्यक्ष श्रेष्ठले आज एक सार्वजनिक कार्यक्रममा बोल्नुहुदै गोरखामा २ मा नेपाल समाजबादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईलाई टिकट दिने भन्ने कुरा भ्रम मात्र भएको दावी गर्नुभयो ।
‘नेपाल समाजबादी पार्टीका नेताहरु मै हो यहाँको उमेद्वार भन्दै घोषणा गरेकाले कतिपय अन्यौल पनि सृजना भएको पाएको छ, उहाँले भन्नुभयो, त्यस्तो होइन, बाबुराम जीको पार्टीले हाम्रो पार्टीको चुनाव चिन्ह लिएर चुनाव लड्ने भन्ने कुरा सत्य हो, तर कहाँ–कहाँबाट उहाँको पार्टीलाई चुनाव लड्न दिने भनेर निर्णय भएको छैन ।’उहाँले डा भट्टराईले पार्टी अध्यक्ष प्रचण्ड सहित आफुसंगको छलफलका क्रममा गोरखा २ दावी नगरेको समेत खुलासा गर्नुभयो ।
‘सर्लाही, नवलपरासी र काठमाण्डौ गरी ३ वटा क्षेत्रमा मात्र उहाँहरुले टिकट माग गर्नुभएको हो, उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘काठमाण्डौमा मानुसीको निम्ति एउटा सिट चाहिन्छ भनेर हाम्रो पार्टीलाई प्रस्ताव भएको छ, त्यस बाहेक नवलपरासी र सर्लाहीमा पनि उहाँहरुले टिकट दावी गर्नुभएको सत्य हो ।’बरिष्ठ उपाध्यक्ष श्रेष्ठले डा.भट्टराइले पहिला जस्तो मै चुनाव लड्नु पर्छ भन्ने कुरामा आंशका नगर्न पनि आफुहरुलाई आग्रह गर्नुभएको बताउनुभयो ।
‘पहिले जस्तो मै आफै चुनाव लड्नुपर्छ भन्ने छैन, त्यो आशंका नरहोस् है भनेर मेरै उपस्थितीमा अध्यक्ष कमरेड र म र महेन्द्र यादव सहित उहाँ आएर भन्नुभएको हो, उहाँले भन्नुभयो, ‘त्यसैले अहिले उहाँलार्ई गठबन्धनले टिकट दिने या माओबादी केन्द्रले टिकट दिने भन्ने बारेमा कुनै निर्णय छैन ।’ उहाँले गोरखा क्षेत्र नम्बर २ बाट चुनाव जिल्ला पार्टीबाट आफ्नो नाम पनि सिफरिस गरेको भन्दै पार्टिको निर्णयलाई स्विकार गरेर अघि बढ्ने बताउनुभयो ।
‘जिल्ला पार्टीबाट मेरो नाम पनि सिफारिसमा गएको छ, बरिष्ठ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, पार्टीले जे निर्णय गर्छ, पार्टीको निर्णयलाई हामीले सफल पार्नुपर्छ, बिजय गराउनुपर्छ ।’ यहाँ हाम्रो पार्टीकै उमेद्वार हुन्छ यसमा कुनै दुबिधा पाल्नु जरुरत छैन ।
यस अघि नेपाल समाजबादी पार्टी (नेसपा) का अध्यक्ष समेत रहनु भएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लडने घोषणा गर्नुभएको थियो ।





















