गोरखा / नेपाल समाजवादी पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आसन्न निर्वाचनमा आफु गोरखा २ बाट चुनाव लड्ने बताएका छन् ।
गृहजिल्लामा शनिवार पत्रकारहरु सँग कुराकानी गर्दै उनले भने ‘यस अघिको निर्वाचनमा जसले जहाँ जितेको हो त्यहाँ लिने भन्ने अन्तरिक सहमती छ, त्यो अनुसार म स्वत: गोरखा २ बाट चुनाव लड्छु ।’ त्यसको अन्तिम टुङ्गो भने गठबन्धनले लगाउने उनले बताए । गोरखा २ गठबन्धनबाटै आफ्नो भागमा पर्नेमा उनी ढुक्क छन् ।
कुनै दल विषेशको नेता वा उम्मेदवार भन्दापनि गोरखाबाट एउटा साझा ब्यक्तिको हिसाबले आफुलाई हेर्दा उपयुक्त हुने उनले बताए । ‘सबै दलको साझा उम्मेदवारको रुपमा अघि बढ्न चाहेको छु’ उनले भने ‘गठबन्धनका कांग्रेस, माओवादी लगायत दलको त सहयोग हुनेछ, त्यो बाहेकका दलहरुले पनि यस पटक गोरखाको प्रतिनिधित्व गर्ने अवसर दिनुहुनेछ भन्ने अपेक्षा छ ।’
गठबन्धका अन्य दलले गोरखा २ का लागि आफ्नो पार्टीबाट उम्मेदवारको नाम सिफारिस गरेको विषयलाई उनले त्यो पार्टीहरुको औपचारीक प्रक्रिया भएको भन्दै अन्यथा लिन नमिल्ने बताए । ‘अन्तिम टुङ्गो पार्टीको केन्द्रिय समितिले लगाउँछ, गठबन्धनले लगाउँछ’ उनले भने ।
गठबन्धन भित्र सिट बाँडफाँडको विषय पेचिलो भईरहेको प्रसंगमा उनले भने ‘खाजा बाँडफाँड गर्दा त समय लिन्छ, यो त राजनीतिक शक्ति, सत्ताको बाँडफाँड हो, दुई, चारसिट तलमाथि होला, केहीदिन ढिला होला अन्तत मिल्छ ।’ पहिलो जसले जुन क्षेत्र जितेको छ त्यो लिने र एमालेले जितेको ठाउँ बाँडफाँड गर्ने भन्ने सहमती भएकाले सोही अनुसार सिट बाँडफाँड हुने उनले बताए ।
यो निर्वाचनमा शुसासन र समृद्धीको ठोस मार्गचित्र बनाएर आफु अघि बढ्ने डाक्टर भट्टराईले बताए । यसअघि प्रधानमन्त्री हुँदा छोटो अवधीमा धेरै काम गर्न नसकेको बताउँदै उनले बिगतमा थालेका काम पुरा गर्ने योजना रहेको बताए ।
माओवादी केन्द्रको चुनाव चिन्ह लिएर लड्ने घोषणा गरेका उनले चुनावपछि पार्टी एकताको विषयमा पनि छलफल भईरहेको बताए । ‘नयाँ समाजवादी धार निर्माण गर्ने योजना अनुसार एकै ठाउँमा उभिएर जाने हो’ उनले भने । नेपाल समाजवादी पार्टी गोरखाको पहिलो बिस्तारित बैठकमा सहभागी हुन भट्टराई गोरखा आएका थिए ।





















