काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जेलमा रहेका अफताब आलमलाई सांसदको उम्मेदवार नबनाउने स्पष्ट पारेका छन्। उनले सम्बन्धित निर्वाचन क्षेत्रले सिफारिस गरे पनि आलमलाई पार्टीले उम्मेदवार नबनाउने बताए।
रौतहट क्षेत्र नम्बर २ काँग्रेसले मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि सर्वसम्मत रूपमा आलमलाई उम्मेदवार बनाउन सिफारिस गरेको थियो। यसबारे आज काठमाडौंमा आयोजित रामलाल जोशीद्वारा लिखित पुस्तक ‘बाआमा’ लोकार्पण कार्यक्रममा साहित्यकार नयनराज पाण्डेले प्रसंग उठाएका थिए।
‘इँटाभट्टामा मान्छे लगाएको अभियोग लागेकालाई काँग्रेसले उम्मेदवार बनाउँदैछ, यसका बारेमा हामीले कथा लेख्ने दिन आउँदैछ’ उनले भनेका थिए। महामन्त्री थापाले जवाफमा काँग्रेसले उनलाई उम्मेदवार नबनाउनेमा ढुक्क हुन आग्रह गरे।
‘नयनराज दाइले गगनको पार्टी भन्नुभयो। कुनै बेला उहाँले पनि काम गरेको पार्टी हो,’ थापाले भनेका छन्, ‘संविधानले वर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दाखेरि पनि छाती ठोकेर यो हामीले गरेको निर्णय हो भन्न नसक्ने कुनै पनि निर्णय हामी भएको ठाउँबाट हुँदैन, हाम्रो पार्टीले गर्दैन, यत्ति कुरा आश्वस्त पार्छु।’





















