चितावन / पत्रकार विनोदबाबु रिजालको पहिलो कृति ‘एकान्तवास’ को आज लोकार्पण गरिएको छ । कोभिड–१९ (कोरोना भाइरस) को महामारि नियन्त्रण गर्न गरिएको लकडाउनको सेरोफोरोमा लेखिएको कृति हो ।
शनिबार युरेका पब्लिकेसनका लेखराम सापकोटाको अध्यक्षतामा एकान्तवास कृतिको साहित्यकार गोविन्दराज विनोदीले लोकार्पण गर्नभयो ।
कृतिको समिक्षा गर्दै साहित्यकार तथा पत्रकार बालकृष्ण थपलीयाले चैत ८ देखि असार १ गतेसम्मका मुख्य घटना, तथ्यांक र अनुतिलाई रोचक ढंगले समावेश गरिएको बताए । “यो डायरी पढिरहदा हामी उनीसँग रुन सक्छौँ, हास्न सक्छौँ”, उनले भने, “कतै इतिहास सम्झाएका छन्, कतै जीवनका आरोह अवरोह सम्झेका छन् ।
चैत ८ देखि असार १ सम्मको ११ दिन बाहेक ७५ दिनलाई समेटेको बताए । ७८ शिर्षकमा रिजालले डायरी लेखेको छन् । यो पुस्तकमा २६० पृष्ठ छन् । “कोरोना नियन्त्रण र रोकथामका लागि भएका पहल पनि समेटिएका छन्”, उनले भने, “समाचार मात्रै होइन, अनुभव पनि पोखेका छन्, यो कृति भावी पुस्ताका लागि दस्तावेज पनि हो ।”
साहित्यकार गोविन्दराज विनोदीले लकडाउनलाई विनोदबाबुले सदुपयोग गरेको बताउँछन् । “असहज परिस्थितिलाई सदुपयोग गर्नुभएको छ, यो कृति पठनीय छ”, उनले भने, “राम्रो कृति आएको छ, ‘न्यूज’, ‘भ्यूज’ को समिश्रण छ ।” एकान्तवासमा साधना गरि निकालेको कृति उपयोगी हुने बताए । पत्रकारपनि साहित्यको क्षेत्रमा अघि बढेको अनुभव गरेको बताए ।

साहित्यकार एल वी क्षेत्रीले एकान्तवासको असहनीय पीडा भोगेपनि मीठो कृति ल्याएकोमा खुशी व्यक्त गरे । साहित्यकार केदारनाथ खनालले समाजका लागि एकान्तवास कृति दस्तावेजका रुपमा रहने बताए । समीक्षक उदय अधिकारीले लकडाउनलाई भावी पुस्ताले सहजै बुझ्ने भाषामा उतारेको दावी गरे ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले कृति दस्तावेजका रुपमा आएको बताए । “यो डायरी मात्रै होइन, यसमा देश तथा विदेशका मुख्य घटनाहरु सबै समेटिएका छन् ”, उनले भने, “जुनसुकै भुगोलमा बसेर पढ्न मिल्ने कृति निस्केको छ ।
पत्रकार विनोदबाबु १६ वर्षदेखि चितवनको पत्रकारितामा क्रियाशिल छन् । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेको उनी एलएलवी पनि गर्दैछन् । व्यवथापनतर्फ कक्षा ११ र १२ मा कविलास माविमा अध्यापन पनि गर्छन् । धादिङको वेनीघाट रोराङ–१० का रिजाल हाल भरतपुर–१० मा बस्छन् ।

लेखक तथा पत्रकार रिजालले अविष्मरणीय लकडाउनको सम्झनाको संगालो भएको बताए । “गहिरो कल्पनामा डुबेर लेखिएको किताव होइन, कोरोना त्रास र लकडाउनको कालो दिनलाई सम्झने प्रयास गरेको हुँ ।” लकडाउनपछि अर्थतन्त्र, समाजिक जीवनमा पारेका प्रभावलाई एकिकृत गरि पुस्तकको आकार दिएको बताए ।
कृतिमा लकडाउन अवधिमा भएका राजनीतिक उतार चढाव, प्रधानमन्त्रीका अभिव्यक्तिहरु, नयाँ नक्सा जारी, संक्रमितको बढ्दो प्रभाव लगायतका घटना समेटिएका छन् । कृतिमा केही कविता पनि कोरेका छन् । युरेका पव्लिकेशन तथा सम्पूर्ण कितावका लेखराम सापकोटाले पत्रकार रिजालले लकडाउन अवधिलाई पत्रकार र नागरिकको आँखाबाट नियालेर दैनिकि लिपिवद्ध गरेको बताए । सापकोटाले लकडाउन अवधिका तथ्यांक मात्रै नभई त्यसले पारेका प्रभाव र आउन सक्ने चुनौती समेत समेटि कृति आएकाले पढ्न उपयोगी हुने बताए । कृति युरेका पव्लिकेशनले प्रकाशन गरेको हो ।
वरिष्ठ कवि गोविन्दराज विनोदीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा रामेश्वर पुस्तकालय क्षेत्रपुरका अध्यक्ष एवं कवि बालकृष्ण थपलिया, समाजसेवी ध्रुवराज थपलिया, समीक्षक उदय अधिकारी, नेपाल पत्रकार महासंघ चितवन शाखा अध्यक्ष राधेश्याम खतिवडा, कवि एवं कथाकार एलबी क्षेत्री, चितवन साहित्य परिषदका पूर्वअध्यक्ष केदारनाथ खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम अजिता अधिकारीले संन्चालन गर्नुभएको थियो ।





















