बागमति / बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मङ्सिर ४ मा हुने निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने बताएका छन् ।
उनले अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेकाले आफूले दोस्रो पुस्तालाई समर्थन गर्ने बताए । उनतले अहिले देशले साच्चै नै परिवर्तन खोजेको उल्लेख गर्दै अब नयाँ पूस्तालाई उम्मेदवार बनाउनु र जिताउनु नै आफ्नो मुख्य जिम्मेवारी हुने उल्लेख गरे ।
सधैँ हामी मात्रै नेतृत्वमा जानुपर्छ र अरुले गर्नै सक्दैनन् भन्ने मनोविज्ञान त्याग्नुपर्ने बेला आएकाले सबैले यसतर्फ ध्यान दिनुपर्ने बेला आएको उनको भनाइ थियो ।
राजनीति लहड, रहर र दबाब मात्रैले नचल्ने भन्दै उनले दोस्रो पुस्ता मात्रै हैन अहिले नाति पुस्तासमेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएर बसेको उल्लेख गरे ।
यसैबीच पूर्वमुख्यमन्त्री पौडेलले आज एक सन्देश जारी गर्दै मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा आफू कुनै पनि तहमा उम्मेदवार नहुने घोषणा गरेका छन् ।
“अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेको यथार्थलाई हामीले अनदेखा वा नजरअन्दाज गर्न मिल्दैमिल्दैन, त्यसैले आगामी निर्वाचनमा मेरो उम्मेदवारी हुनुपर्छ भन्ने तमाम मेरो शुभचिन्तक, नागरिक समाज, युवा विद्यार्थी तथा पत्रकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी निर्वाचनमा मेरो कुनै पनि क्षेत्रबाट उम्मेदवारी नरहने जानकारी गराउँदछु”, उनीद्वारा जारी सन्देशमा उल्लेख छ ।
सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आगामी निर्वाचनका सम्भावित उम्मेदवारका बारेमा चर्चा परिचर्चा पनि सुरु भइसकेको उहाँले उल्लेख गर्नुभएको छ ।





















