आज कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिन , यो लेख प्रकाशित हुदै गर्दा सामाजिक सञ्जालहरु लगायतका ठाउँमा आफ्ना बुबा सँगका तस्वीरहरुले भरिएका छन् । यो बिशेष दिन लगायत बुबाको अर्थ र साँच्चिकै उहाँको परिवारमा भएको विशिष्ठ जिम्मेवारीको उचित कदर र सम्मान ३६५ दिन नै कायम हनु पर्दछ भन्ने मान्यता राख्छु म ।
आफू एक असल व्यक्तिको छोरा र आफ्ना पनि दुई छोरीहरु भैसकेको अवस्थामा बा भन्ने शब्दको महत्व र एउटा परिवारलाई सहि बाटोमा लैजान का साथै आर्थिक एवं सामाजिक हिसाबले स्थापित गराउन एउटा बा दिनहुँ कति मेहनत गर्दछ भन्ने कुरा आफै बुझ्दै छु ।
यसै परिपेक्षमा घरको सम्पूर्ण पालनपोषणमा आमाको विशिष्ठकृत भूमिकालाई उच्च सम्मान गर्दछु । आमा जननी र पालनहार हुन् भने बुबा पथ प्रदर्शक र परिवारको एक खम्बा हुन् भन्ने लाग्छ मलाई । आज बा को सम्झनामा मेरा स्वर्गीय पिता जो बा मात्र नभएर मेरा अभिभावक , शिक्षक र एक सच्चा साथी पनि हुनुहुन्थ्यो (माधव प्रसाद मरहट्टा) उहाँको बारेमा केही कुरा लेख्ने हिम्मत गर्दछु ।
२०७७ साल असोज ,कार्तिकको त्यो कहाली लाग्दो समय संसारभर कोभिड को त्रासले हामी सबैलाई निकै अप्ठ्यारो पारेको थियो ।
म आफै मेडिकल डाक्टर र मेरी श्रीमती सृजना पनि डाक्टर भएकोले यो परिस्थितिमा घरमा बस्ने र छुट्टी मनाउने अवसर हामीलाई थिएन यद्यपी सम्पूर्ण विश्व एक प्रकारको लक डाउन को अवस्थामा गुज्रिरहेको थियो । दिनहुँ घरबाट निस्कदा र घरमा आउदा मनमा एक प्रकारको त्रास हुन्थ्यो किनकी घरमा संगै बस्नुपथ्र्यो ।
समय वित्दै गयो शुरुमा देश नै ठप्प भएको अवस्थामा खासै कोभिडका बिरामी हरु थिएनन् तर जब लकडाउन खुकुलो हुन थाल्यो संक्रमण समुदायमा आयो र निकै सावधानीको बावजुद पनि कोभिड १९ ले हाम्रो घरमा आक्रमण गर्यो । मेरा बा जो वर्षौ देखि पार्किन्सन (Parkinsons ) भन्ने नशाको रोगसँग जुधिरहनु भएको थियो, उहाँलाई एक दिन ज्वरो आयो र कोभिड १९ टेष्ट गराउदा उहाँलाई कोभिड को संक्रमण देखियो ।
त्यो समय जुन बेला यसको खोप उपलब्ध थिएन त्यो बेला दिर्घरोगी मेरा बालाई कोभिड १९ को संक्रमण हुदाँ सबै जनालाई अत्यास लाग्नु स्वभाविक नै थियो ।
कोभिड १९ को संक्रमण भएतापनि लक्षणहरु नदेखिएकाले र बुबाको अन्य रोगको पनि थुप्रै औषधि खानुपर्ने भएकाले घरमै राखेर उपचार गर्ने हाम्रो परिवारको सल्लाह भयो ।
दशैंको त्यो समय काममा केही कम व्यस्त भएकाले मैले र मेरी श्रीमतीले घरमै बुबालाई दिन दिनै ज्वरो नाप्ने , अक्सीजन हेर्ने , गर्दै उपचार गयौं । मेरी आमाले आफ्नो स्वास्थ्यको ख्याल नगरी आफु संक्रमण नेगेटिभ भएतापनि यसको प्रवाह नगरी बुबाको दिनरात सेवा गर्नुभयो । दशैं जेनतेन मनाईयो र बा को हातबाट टिका पनि लगाईयो । यो कुरा संम्झदा म आज पनि भावुक हुन्छु, किनभने मेरा लागि बुबाको हातको त्यो अन्तिम टिका थियो। समय वित्दै गयो, बुबाको संक्रमण भएको नवौं दिनमा वहाँलाई खोकी लाग्ने र केही असहज भएको जस्तो महसुस भयो र मैले आफ्नै गाडीमा राखेर स्टार हस्पिटल लगे , जसले सयौं कोभिड १९ का बिरामीको राम्रो उपचार गरेको थियो ।
त्यहाँ लगेर मेरो दाजु उमेश र मेरो सल्लाहमा सिटिस्कयान पश्चात भर्ना गर्नुपर्ने निर्णय गर्यौ । वहाँलाई त्यस अस्पतालमा छाडेर विश्वासका साथ घर फर्कियौ । भनिन्छ हाम्रा जिवनमा घट्ने सम्पूर्ण राम्रा र नराम्रा घटनाहरु पहिलै तय भएका हुन्छन् । वहाँको उपचारको ५/ ७ दिनपछि जब उहाँलाई डिस्चार्ज गर्न हामी तयार भएका थियौ तब फेरी ज्वरो आयो र केही दिनपछि मात्र थाहा भयो कोभिड १९ को औषधिले उहाँको मृगौला फेल भई जटिल स्थिति पुगिसकेको रहेछ ।अब उहाँको राम्रो हुने संभावना निकै कम भएकोे कुरा उपचारमा संलग्न मेरा मित्र डाक्टरबाट थाहा पाएँ , जुन मेरो जिवनमा घटेको आजसम्मको सबैभन्दा अप्रिय घटना थियो । निकै प्रयासको बावजुत पनि वहाँलाई हामीले गुमायौ ।
२०७७ साल कार्तिक २६ गते उहाँको भौतिक शरिर हामीबीच रहेन । सामान्य अवस्थामा रहेको मान्छेको अकस्मात भएको स्वार्गारोहणले म र मेरा परिवारका लागि एक असाध्यै पिडा दिएर गयो । आखिर सत्य स्वीकार गर्नु बाहेक हाम्रो सामु अरु केही उपाय थिएन ।
मैले आफ्नो मनलाई भित्रैदेखि दरो बनाएँ। परिवारका अन्य आफन्तबाट पनि कठिन समयमा निकै साथ पाईयो , देश विदेशबाट साहनुभुतिका शब्दहरुले लाग्यो माधव प्रसाद मरहट्टा मेरा मात्रै बा हुनुहुँदो रहेनछ । वहाँ त धेरै व्यक्तिका पथ प्रदर्शक र अभिभावक हुनु हुँदो रहेछ , मन यसरी नै समालियो र वहाँको मृत्युको धार्मिक कार्य समापन गरियो ।
१३ दिनको कार्यपछि सबैजना आ–आफ्ना काममा लागे ।
म पनि फेरि आफ्नो नियमित कार्यमा लाग्न प्रयास गर्दै थिए, त्यसै समयमा हाम्रो परिवारको अर्को प्रिय सदस्य सासु आमा गंगा कोईरालाको असामहिक निधनले फेरी अर्को पिडा थप्यो । दिन बित्दै जादा अब मलाई बुबाको याद र वहाँ सँग बिताएका रात दिनका समय ताजा हुन थाल्यो । मलाई आफै डाक्टर , आफ्नै अस्पताल जो कोभिडको अवस्थामा कहलिएको , आफ्नै बुबालाई मैले बचाउन सकिन भन्ने कुराले मन मनै निकै पोल्न थाल्यो ।
मेरा कयौं अनिदा रातहरुले मलाई झन् झन् कमजोर बनाउदै लग्यो । “कान्छाको डाक्टरमा नाम निस्कीयो थाहा पायौ, अब सबैलाई बोलाएर भोज गर्नुपर्छ“ भन्ने मेरो बुबाका ती करोडौ मूल्यका खुशिका पल सम्झदा के म डाक्टर भएर वहाँलाई अफ्ठयारो अवस्थामा केही गर्न सके त भन्ने कुराले मलाई आफुप्रति वैराग्य लाग्न थाल्यो । मैले गर्दै आएका शल्यक्रिया र बिरामीको उपचारमा पनि मलाइ खासै मन लागेन ।
म लथालिङ्ग भए , मलाई बाको यादले निकै रुवायो , तर यो कुरा बुबाको यादमा आफै विछिप्त भएकी मेरी आमा र मेरो दाई दिदि लगायतलाई देखाउन म असमर्थ थिए । दिनहरु यसै वित्दै थिए , बुबाको सायद मलाई आर्शिवाद प्राप्त भयो । मेरा सोचहरु एकाएक परिवर्तन भए । मेरो बुबा जोे आफ्नो बा, मेरो हजुरबा संग पनि एकदमै नजिक हुनुहुन्थ्यो ,के उहाँले पनि आफ्ना बा को निधनमा यस्तै शोक मात्र गरेर हिड्नुभएको भए आज म लगायत मेरो परिवार यो अवस्थामा हुन्थ्यो होला र ?
मैले मेरी आमा ,श्रीमती ,छोरीहरु र वाँकी परिवार र समाज प्रतिको दायित्व वोध गरें । बा भौतिक रुपमा नभए पनि उहाँले दिएका हजारौं ज्ञानहरु ,उहाँले छोडेर गएका संस्थाहरु , उहाँको मार्ग निर्देशन र उहाँको आशिर्वाद त म सँग छ नी भन्ने मलाई लाग्यो ।
अब उहाँको सपना र सोच पुरा गर्न झन् आक्रामक रुपमा लाग्छु भन्ने दृढ संकल्प गरें र फेरी आफ्रनो पेशामा फर्किएँ । यसै विचमा कोभिड १९ को दोस्रो लहर आयो , म आफै सरकारी अस्पतालको म सूचना अधिकारी भएर सयौं बा आमाको उपचारमा सहभागी भएँ । जसले मलाई केही हदसम्म सान्तना दियो । आफ्रना बा माधव प्रसाद मरहट्टा लाई म आज निम्न कुराहरुले सम्झने र उहाँको व्यक्तित्वबाट आफुलाई उर्जा लिने काम गर्दछु ।

१) निरन्तरको कठोर परिश्रम र आत्मविश्वास
मेरा बाको सबैभन्दा ठूलो गुण भनेको कुनै पनि काम उहाँले असंभव देख्नुहुदैन थियो । उहाँ विहान ५ बजे देखि बेलुका ११ बजे सम्म लगातार काम गरेको मैले देखेको छु । कठोर परिश्रम र आत्मविश्वासले नै होेला उहाँले नेपालको शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको थियो । सरकारी स्तरको विद्यालय होस् वा निजि विद्यालयको स्थापना गरेर त्यसलाई राष्ट्रिय स्तरको विद्यालयमा परिणत गर्नु उहाँको मेहनतको फल हो । आफुले गर्ने कुरामा निरन्तर लाग्नुपर्छ , अनुशासित बन्नुपर्छ र काममा छलकपट गर्नुहुदैन भन्ने उहाँको बानी थियो । काम कुनैपनि सानो वा ठूलो हुँदैन भन्ने मैले उहाँबाट सिकेको हुँ । उहाँले मलाई डाक्टर पास गर्दा भनेको कुरा अझै याद आउँछ “बाबु डाक्टर त धेरै छन् ,तिमिले आफ्नो बिधामा अब्बल भएमा मात्र तिम्रो सफलता हुनेछ । पेशा ठूलो वा सानो हुदैन , जुत्ता पालिस गर्ने मान्छेनै किन नहोस नामुद भएमा मात्र उसले सन्तुष्टि पाउँछ र समाजमा नाम रहन्छ । त्यसैले एक नम्वर हुनुपर्दछ“ भन्नु हुन्थ्यो उहाँ । जटिल रोगसँग लड्रदै गर्दापनि उहाँको आत्मविश्वास कहिल्यै डगमगाएन ।
२) समाज परिवर्तनको हुटहुटि
मेरा बाको उर्जाशिल उमेरमा देशमा धेरै आन्दोलन भए जसले धेरै परिवर्तन गरायो । उहाँ यी धेरै आन्दोलनहरु जस्तै शैक्षिक हक हितका आन्दोलन , प्रजातान्त्रको आन्दोलनमा सहभागी हुनुहुन्थ्यो । देशमा प्रजातन्त्रको स्थापना भएता पनि अझै यस समाजमा विभेधको अन्त्य हुन सकेको छैन भन्दै प्रचण्डको नेतृत्वमा देशमा शसस्त्र आन्दोलन शुरुवात भयो । मेरा बुबा जो हत्या हिंसाको विरोधी हुनुहुन्थ्यो तर उहाँको विचारमा पनि समाजमा अझै विभेध छ भन्ने थियो । त्यसैले उहाँ युद्धमा नलागे पनि नेकपा माओवादीले उठान गरेको विषयबस्तुलाई समर्थन गर्नुहुन्थ्यो । यसै कारण धेरै पटक पुलिस र आर्मीको सजाय खादा पनि उहाँले आफ्नो सिद्धान्त छोड्नु भएन । पटक पटक आर्मीको क्रुर दमन र ज्यानै जान सक्ने परिस्थितिलाई सामना गर्दै आफ्नो निष्ठाबाट विचलित नभई कठोर परिस्थितिको सामना गर्नुभयो । उहाँको यस्तो निष्ठाबाट म धेरै नै प्रभावित छु । राजनैतिक निष्ठा प्राय: शुन्य रहेको हालको समयमा उहाँको यो प्रष्ट अडान र व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न सक्ने स्वभाव उहाँको समाज परिवर्तन गर्ने हुटहुटी हो भन्ने मेरो बुझाई छ ।
३) कसैको दुख देख्न नसक्ने एक कोमल मनका धनि
मेरा बा समाजको विभेदसँग निकै संवेदनशिल हुनुहुन्थ्यो । आफु एक सक्षम परिवारमा जन्मेको भएतापनि उहाँ कसैको दुख देख्दा आफ्नै जस्तो महशुस गर्ने गर्नुहुन्थ्यो । मानिसलाई मानिस कै रुपमा हेर्नुपर्दछ न की उसको जात, धर्म वा सम्पन्नताको आधारमा वर्गिकरण गर्न हुन्न भन्ने उहाँको सोच थियो । सबैलाई खुशी बनाउँ , कसैको मन नदुखाउँ भन्ने र सबैको प्रिय हुनुहुन्थ्यो उहाँ । यति हुँदा पनि उहाँ परिवार, समाज र राष्ट्रमा भएका अन्यायका बारेमा दृढ आवाज उठाउने एक प्रष्ट वक्ता पनि हुनुहुन्थ्यो ।
४) सानैदेखि अभिभावक र सबैैको संरक्षकको भूमिका
मैले पारिवारिक र सामाजिक व्यक्तिहरुबाट थाहा पाए अनुसार उहाँमा सानै उमेरदेखि अभिभावकको भूमिका निर्वाह गर्न सक्ने क्षमता थियो ।
गाउँबाट आएका मेरा दाजुभाईहरु लगायत परिवारमा संघर्ष गदै गरेका सम्पूर्ण सदस्यहरुलाई उहाँले उसको क्षमता पहिचान गरी त्यस अनुसारको कार्य गर्न प्रोत्साहित गर्नुहुन्थ्यो । यस कार्यमा आफु सँगै भएको महशुस गराउनु हुन्थ्यो उहाँ । मेरा परिवारका धेरै नातेदारहरुले उहाँकै कारण आफ्नो एउटा छवि बनाउन सफल भएका छन् जुन साँच्चै गर्वको कुरा हो ।
यी र यस्ता गुण संम्झदा मेरा बा प्रति मलाई दिनदिनै गर्वको महसुस हुन्छ । वर्षको हिसाबले केही कम उमेरमा उहाँको निधन भएता पनि उहाँले आफ्नो बाँचेको समयलाई उर्जाशिल बनाएर समाज र राष्ट्रलाई ठोस योगदान दिनुभएकोमा हाम्रो परिवार सधै नै गौरवको महशुुुस गर्दछ । बाले हामीलाई सक्षम बनाउनुभयो , आर्थिक रुपमा मजबुत बनाउनुभयो र आज हामी जुन ठाउँमा पनि उभिन्छौं, सफल हुन्छौं , उहाँ कै नामबाट चिनिन चाहन्छौ ।
डियर बा, तपाई आज हाम्रो सामु भौतिक रुपमा नभए पनि तपाईको माया आशिर्वाद , तपाईले हामीलाई छोडेर जानु भएको अमूल्य सम्झनाहरुले हामीलाई केही हदसम्म भएपनि तपाईको अभाव हुन दिएको छैन । तपाईको मार्गनिर्देनको सधै पालना गरी एक असल नागरीक बन्ने छु भन्ने दृढ संकल्प गर्दै मेरा डियर बा र सम्पूर्ण बा हरुलाई यस विशेष दिनमा हार्दिक नमन गर्न चाहन्छु ।
(लेखक डा. सुमन बाबु मरहट्टा स्व. माधव प्रसाद मरहट्टाको कान्छा छोरा हनुहुन्छ ।)





















