चितवन / अर्थमन्त्री जनार्दन शर्माले राजनैतिक बाध्यताले गठबन्धन बनेको हो भन्ने कुरा बताए । शर्माले अलग अलग पार्टीले देशमा राजनीतिक स्थायीत्व दिन नसक्ने पुष्टी भएको बताउनुभएको छ ।
नेपाल उद्योग व्यापार महासंघ चितवनको ५ औँ जिल्ला सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले गठबन्धनलाई ५–१० वर्षसम्म सहकार्य गरेर जाने गरी अगाडी बढाउनुपर्ने बताउनुभएको छ । “अलग अलग पार्टीले राजनीतिक स्थायीत्व दिन्छ की भनेर धेरै मिहेनत गरियो, काम लागेन, फेल भयो”, उहाँले भन्नुभयो, “राजनैतिक बाध्यताले गठबन्धन बनेको हो । ५–१० वर्ष सहकार्य गरेर अगाडी बढ्नुपर्छ ।” उहाँले राजनीतिक स्थायीत्व भएमा मात्रै आर्थिक विकास र प्रगती हुने बताउनुभयो ।
उहाँले अहिलेको बजेटले व्यापार भन्दा उत्पादनलाई प्राथमिकतामा राखेर क्रमभंग गरेको दाबी गर्नुभयो । “व्यापारमा अल्झिरहेको अर्थतन्त्रलाई उत्पादनतिर सिफ्ट गर्दा हलचल भयो”, उहाँले भन्नुभयो, “अहिलेको बजेटले उत्पादनमा जान उद्योग, कृषि, पर्यटन लगायतका क्षेत्रमा प्रथामिकता दिएको छ । आर्थिक अवस्थालाई स्थिरततिर लैजाने लक्ष्य लिएको छ ।”
उहाँले रेमिट्यान्स र भन्सारबाट आउने राजश्वका भरमा नभई आन्तरिक उत्पादनमा आधरित राजश्वको भरमा चल्ने बनाउनुपर्ने देखिएको बताउनुभयो । उहाँले चितवनबाट ४५ मिनेटमै काठ्माण्डौ पुग्ने गरी छिटै द्रुतमार्ग निर्माण हुने बताउनुभयो ।
“बजेटमा यो योजना भाषण गर्न भनिएको होइन, काम गर्न राखिएको योजना हो”, उहाँले भन्नुभयो, “काम सुरु भएको छ । छिटै अन्र्तराष्ट्रिय टेण्डर हुनेछ ।” द्रुतमार्ग बनेपछि चितवनको विकासले छर्लाङ मार्ने बताउनुभयो ।





















