काठमाडौं / नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले सकिएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकले पार्टी पदाधिकारीको टुंगो लगाएको छ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मतले पारित भएको हो।
बैठकले २१ सदस्यीय पदाधिकारी बनाएको छ। विशेष अधिवेशनसम्मका लागि पदाधिकारी चयन गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। उनले भने, ‘हामीले विशेष महाधिवेशन गर्ने भनेका छौं, विशेष महाधिवेशनसम्मका लागि पदाधिकारी चयन गरिएको हो।’
जसअन्तर्गत वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, उपाध्यक्षमा कृष्णबहादुर महरा, महासचिवमा देव गुरुङको नाम अनुमोदन गरेको छ।
उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेलको नाम अनुमोदन गरेको छ। सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की र कोषाध्यक्षमा श्रीराम ढकाल ‘प्रशान्त’ चयन भएका छन्।
अब माओवादी केन्द्रमा वैकल्पिकसहित १५६ जनाको पोलीटव्यूरो बनेको छ। यस्तै, ४१ सदस्यीय स्थायी कमिटी गठन गर्ने निर्णय अनुमोदन भएको छ।
आगामी निर्वाचनका लागि घोषणापत्र मस्यौदा गर्न १७ सदस्यीय मस्यौदा समिति गठन गरेको छ। स्थायी समितिको शनिबार बसेको बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा घोषणापत्र मस्यौदा कार्यदल गठन गरेको हो।
समितिको सदस्यहरूमा देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, लिलामणी पोखरेल, शक्ति बस्नेत, गणेश साह, पर्शुराम रम्तेल, अमृता थापा, हरि रोक्का, जाकिर हुसेन, कृष्ण चौधरी रहेका छन्। यस्तै, पर्शुराम तामाङ, भीमा ढुंगाना, जगत सिम्खडा सदस्यका रूपमा रहेका छन्।
यस्तै, बैठकले सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ। उनले भने, ‘भदौ ७ गतेसम्म गठबन्धनको बैठक जारी रहन्छ।
८ गतदेखि १५ गतेसम्म प्रदेशभर प्रशिक्षण कार्यक्रम हुन्छ।’ विद्यार्थी संगठनमा देखिएको विवाद हल गर्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिइएको छ। रिक्त आयोग पूर्तिबारे केन्द्रीय कार्यालयसँग सहजीकरण गरेर टुंग्याउने निर्णय भएको प्रवक्ता महराले बताए।
यस्तै, माओवादी केन्द्रले केन्द्रीय समितिको पदाधिकारी पूर्णता दिएसँगै आगामी संघ र प्रदेशको निर्वाचनतर्फ केन्द्रीत भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले २१ सदस्यीय पदाधिकारी रहने गरी केन्द्रीय पदाधिकारीको टुंगो लगाएसँगै प्रदेश बैठकको तालिका सार्वजनिक गरेको छ ।
साथै, बैठकले पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा निर्वाचनको लागि घोषणापत्र मस्यौदा समिति गठन समेत गरेको छ । साथै, बैठकले चुनावमा परिणाम निकाल्ने गरी केन्द्र, प्रदेश हुँदै गाउँतह र जनतासम्म पार्टीलाई केन्द्रीत गर्ने निर्णय गरेको छ ।
यस्तो छ प्रदेश बैठक तालिका
१. भाद्र ७ गते मधेस प्रदेश
२. भाद्र ९ गते गण्डकी प्रदेश
३. भाद्र १० गते प्रदेश न. १
४. भाद्र ११ गते लुम्बिनी प्रदेश
५. भाद्र १२ गते वाग्मती प्रदेश
६. भाद्र १३ गते उपत्यका विशेष
७. भाद्र १५ गते सम्पर्क समन्वय
८. भाद्र १६ गते कर्णाली प्रदेश
९. भाद्र १७ गते सुदुरपश्चिम प्रदेश





















