टिकटक पछिल्लो समय निकै प्रयोग हुने एप बनेको छ । यो एपका प्रयोगकर्ताहरु विश्वमा करोडौंको संख्यामा रहेका छन् ।
चिनियाँ कम्पनीको यो एप पछिल्लो सयम राजनीतिक शिकार पनि बनिरहेको छ । चीनसँगको पछिल्लो तनावपछि भारत लगायतले टिकटकमाथि नै प्रतिवन्ध लगाइदिएका छन् ।
कोरोना भाइरसको महामारीपछि त झन् यो एप निकै चर्चामा रह्यो ।
लकडाउनका कारण फुर्सदमा रहेका कलाकार र आमा मानिसले समेत आफ्नो कला देखाउनका लागि टिकटकको प्रयोग गरे ।
मदनकृष्ण श्रेष्ठ देखि हरिवंश आचार्यसमेत लकडाउनको समयमा टिकटकका कारण चर्चामा रहे ।
पछिल्लो समय अभिनेत्री करिश्मा मानन्धर पनि चर्चामा रहेकी छिन् ।
नेपाली फिल्मकी सदाबहार अभिनेत्री मानन्धर समेत टिकटकको सदस्य भइसकेकी छन् । कोरोनाको महामारीका कारण सरकारले लकडाउनको घोषणा गरेपछि फुर्सदिलो भएकी उनले अहिले दैनिक रुपमा एउटा भिडियो टिकटकमा शेयर गर्ने गरेकी छन् ।
यसमा उनलाई पछ्याउनेको संख्या ७२ हजार छ । उनले भने जम्मा तीन जनालाई मात्र पछ्याउने गरेकी छन् ।
लामो समयदेखि फिल्म अभिनयबाट टाढा रहेकी उनलाई टिकटकले केही हदसम्म अभिनयको प्यास मेटाउने काम गरेको छ । आफूले अभिनय गरेको फिल्म ‘उपकार’ को ‘लौउन मायालु’ बोलको गीतमा नृत्य गर्दै उनले टिकटकमा डेब्यू गरेकी थिइन् ।
यसपछि उनले आफूले अभिनय गरेका फिल्मका गीतमा लिप्सिङ गर्दै हाउभाउयुक्त अभिनयमा भिडियो बनाउँदै आएकी छन् ।





















