नारायणगढ / नारायणी कला मन्दिरले यस वर्ष पनि रोपाई जात्रा मनाउने भएको छ । कृष्णाष्टमीको अवसर पारेर कला मन्दिरले भदौ ३ गते रोपाई जात्रा आयोजना गर्ने भएको हो ।
संस्कृति संरक्षण र संवर्द्धनका लागि यस वर्ष पनि रोपाई जात्रा आयोजना गरिएको आज (बुधबार) पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ । रोपाई सकिएको खुशीयालीमा जात्रा आयोजना गर्ने गरिएको कला मन्दिरका अध्यक्ष सुविर श्रेष्ठले बताए ।
जात्रामा कृषि पेशामा आधारित नेपालीको जनजीवनको सजिव चित्रण प्रस्तुत गरिने उनले बताए । रोपाई सकी क्वाँटी खाएर शरीरलाई स्फुर्ती प्रदान गर्नु जात्राको बिशेषता भएको उनको भनाइ थियो । जात्राले सामाजिक सहिष्णुतता र मातृत्वभाव बढाउन पनि सहयोग गर्ने उनले बताए।
जात्रामा पञ्चेबाजामा रोपाई गर्दै मनोरञ्जन गर्ने गरिन्छ । जात्रा सम्पन्न गर्न तीन लाख खर्च हुने अनुमान गरिएको छ । यसका लागि बिभिन्न संघ संस्था तथा व्यक्तिबाट आर्थिक सहयोग संकलन गरिएको जात्रा संयोजक सदनकुमार पियाले बताए ।
कार्यक्रम बिहान ८ बजे सुरु हुनेछ । यस्तै रोपाई जात्रा दिउँसो ३ बजे सुरु हुने पियाले बताए । जात्रा कला मन्दिरबाट सुरु भई बालकुमारी स्कुल चोक, प्रगतिपथ, गणेश चोक, क्षयरोग चोक, पारष बसपार्क चोक, दियालोचोक, मेनरोड, लीलाचोक, हरिहर मन्दिर चोक, पुतलीबजार चोक, मेन रोड, पुलचोक, शहिदचोक, मिलन रोड हुँदै पुन: कला मन्दिरमा पुगेर समापन हुनेछ ।
जात्रामा परम्परागत भेषभुषामा पूर्ण रुपमा सजिने मध्ये उत्कृष्टलाई प्ररस्कृत गरिने पूर्वाध्यक्ष अमरदेव प्रधानले जानकारी दिए । १२ वर्ष मुनी र १२ वर्ष माथिका प्रथम, दोस्रो र तेस्रो हुनेलाई पुरस्कारको व्यवस्था गरिएको प्रधानले बताए । जात्रामा नेवार समुदायसँगै अन्य समुदायको पनि उपस्थिति रहने कला मन्दिरका पूर्वाध्यक्ष अमरदेवले बताए ।





















