काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक अधिकार प्रयोग गरेर नागरिकता विधेयक फिर्ता गरेको बताएका छन् ।
राष्ट्रपतिले विधेयक फिर्ता गर्नु हुँदैन थियो भन्ने पक्षमा आफू नरहेको भन्दै उनले विधेयक फिर्ता गर्दैमा आक्रोश व्यक्त गरिहाल्नु नपर्ने बताए ।
संसद्को पनि आफ्नै अधिकार भएको भन्दै उनले संसद्ले पनि आफ्नो अधिकार प्रयोग गर्नसक्ने बताए ।उनले राष्ट्रपतिले फिर्ता गरेको विधेयक संसदले जस्ताको तस्तै पठाउन सक्ने संकेत गरे ।
“राष्ट्रपतिले गर्नुभएका टिप्पणी के छन् त्यसमा पार्टी र गठबन्धन सरकारले पनि छलफल गर्छ । हामीले विशेष सोचका साथ पारित गरेर पठाएका छौं, त्यसैले हामी यसमा स्पष्ट छौं,” कांग्रेसबाट विजयी भएका जनप्रतिनिधिहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उनले भने, “विधेयक फिर्ता भइसकेपछि दलहरूले धारणा बनाएर अगाडि बढ्छन् ।”





















