चितवन / चितवनको सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरु अनिश्चितकालका लागि काममा नजाने भएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् चितवनले आज (सोमबार) विज्ञप्ति जारी गर्दै काममा उपस्थित नहुने जानकारी दिएको हो ।
कर्मचारीहरुले शैक्षिक योग्यता, कार्य दक्षता र क्षमता अनुसार पारिश्रमिक नपाएको भन्दै परिषद् आन्दोलित भएको छ । सोही आन्दोलनमा सहभागी हुन चितवनको विद्यालयका कर्मचारीहरु अर्को सूचना जारी नभएसम्म विद्यालयमा उपस्थित भई कामकाज गर्न नसक्ने विज्ञप्तिमा भनिएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग शिक्षक मन्त्रालय मार्फत भएका सम्झौताहरु कार्यान्वयन गराउन पटक पटक शान्तिपूर्ण ढङ्गबाट माग गर्दा पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको परिषद्को विज्ञप्तिम उल्लेख छ । चालू आर्थिक वर्षको बजेटमा समेत निजामती कर्मचारी तथा शिक्षकहरुको तलब १५ प्रतिशतले वृद्धि हुँदा कर्मचारीको हकमा लागू नभएकोले परिषद्ले बताएको छ ।
तलबमा विभेद गरिएको भन्दै भाद्र १ गतेदेखि शिक्षा तथा मानव स्रोत बिकास केन्द्र सानोठिमी भक्तपुरमा अनिश्चितकालिन आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सोही आन्दोलनमा सहभागी हुन चितवनको विद्यालयका कर्मचारीहरु अनिश्चितकालका लागि काममा नजाने भएको विज्ञप्ति भनिएको छ । परिषद्ले कर्मचारीको आन्दोलन सफल बनाउनका लागि सहयोग गरिदिन विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा पेशागत संघ संस्थाहरुलाई आग्रह गरेको छ ।
परिषद्ले चरणबद्ध आन्दोलन घोषणा गरेको छ । जस अन्तर्गत २२ गते शिक्षा तथा प्रविधि मन्त्रालयलाई तथा २२ गते शिक्षा तथा मानव स्रोत बिकास केन्द्रमा ज्ञापन पत्र बुझाएको थियो ।
३१ गते पत्रकार सम्मेलन, भाद्र १ गते बिहान ११ देखि ४ बजेसम्म केन्द्रमा धर्ना तथा कोणसभा र २ गतेदेखि केन्द्रमा अनिश्चितकालिन धर्ना तालाबन्दीको घोषणा गरेको छ ।






















