काठमाडौँ / काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कुहिएको राजनीतिक खेल नखेल्न आग्रह गरेका छन् ।
आइतबार कांग्रेस, माओवादी र नेकपा एसका धुनिबेंसी-१ वडा समितिले पार्टी नगरसमितिलाई संयुक्तरुपमा पत्र लेख्दै बन्चरेडाँडामा फोहोर मैला दीर्घकालीनरुपमा बन्द गर्न आग्रह गरेपछि मेयर शाहले ‘फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिन’ आग्रह गरेका हुन् ।
‘हामीले र हाम्रो संविधानले जुन राज्य प्रणालीको परिकल्पना गरेको छ, त्यसमा एउटा सरकारको तह र अर्को तहको आपसी समन्वय तथा मेलमिलापको नै कल्पना गरिएको छ ।
यसका विपरित एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नु पर्ने, असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ ? फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिउँ ।
राजनीति त्यस्तो हुदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन । यसमा हेक्का राखौँ ।’ सामाजिक सञ्जालमा भनेका छन् ।






















