काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी केन्द्रका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आगामी प्रदेश र प्रतिनिधि सभामा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको छ।
आइतबार बिहान करिब ७ बजे खुमलटार पुगेका डा.भट्टराई र अध्यक्ष प्रचण्डबीच करिब एक घण्टा छलफल भएको थियो।
नेपाल समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेका अनुसार आइतबारको छलफल मौखिक समझदारीमा पुगिसकेको र सोमबारसम्म लिखित समझदारी बनाइने छ। आजको छलफलपछि दुई नेताबीच निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको हो।
एउटै चुनाव चिह्न माओवादीले प्रयोग गर्दै आएको गोलाकारभित्रको हँसिया हथौडा हुनेछ। निर्वाचन आयोगबाट मान्यता पाएको भट्टराई नेतृत्वको नेपाल समाजवादी पाटीको चुनाव चिह्न भने आँखा छ।
सहमतिबारे दुवै दलले आ-आफ्नो दलमा छलफल गर्ने र औपचारिकता दिनेछन्। त्यसपछि उनीहरु निर्वाचन आयोगमा दल दर्ताका लागि जानेछन्। निर्वाचन आयोगले साउन २२ देखि ३१ गतेसम्म दल दर्ताको समय दिएको छ। मंसिर ४ मा प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन हुँदैछ।





















