काठमाडौं / नेपाली काँग्रेसको शेखर कोइराला समूहको भेलाले पार्टी नेतृत्वले एकलौटी ढंगबाट अघि बढेकोले अब पार्टीभित्र भागबन्डा खोज्नुपर्ने निष्कर्ष निकालेको छ। बत्तिसपुतलीमा शनिबार भएको भेलाले सभापति देउवाले न्यायोचित व्यवहार नगरेको आरोप लगाइएको छ।
आठ महिनामा भएका एक दर्जन निर्णयमा प्रतिस्पर्धी समूहका एक जनालाई पनि सभापति देउवाले समेट्न नसकेको सो समूहको भनाई छ। राष्ट्रियसभाको निर्वाचन, स्थानीय तह निर्वाचन, केन्द्रीय समिति सदस्य मनोनयन, भ्रातृ संस्थाको अध्यक्ष मनोनयनलगायतका निर्णय गर्दा इतर समूहसँग सभापति देउवाले सल्लाह नगरेको नेता जगदीश्वरनरसिंह केसी बताए।
‘प्रतिस्पर्धी समूहका व्यक्तिसँग सल्लाह पनि गर्नुहुन्न । समेट्दा पनि समेट्नुहुन्न, यसबाट के बुझियो भने आगामी संसदीय निर्वाचनमा पनि उहाँले न्यायोचित निर्णय नगर्ने भए भागबण्डामा जानुपर्छ,’ उनले भने, ‘न्यायोचित निर्णय हुँदैन भने ४० प्रतिशत चाहियो। अब अस्तित्वको लडाइँ लड्नुपर्ने भयो।’
शेखर समूहले आउँदो निर्वाचनमा ४० प्रतिशत भाग दाबी गरेको छ। ‘आउने निर्वाचनमा हामीले ४० प्रतिशत भाग पाउनुपर्छ। यो कुरामा सभापति गम्भीर हुन जरुरी छ,’ उनले भने। भेलामा केन्द्रीय सदस्य प्रतिमा गौतम, मधु आचार्य, गुरु घिमिरे, मनोजमणि आचार्य, केशव सिंह, रञ्जित कर्ण, सुवास पोख्रेल, डिल्लीराम सुवेदी, गोमा केसी, कुसुम थापासहित ८० जनाको उपस्थिति थियो।





















