चितवन / माडी नगरपालिका वडा नम्बर ३ रतनी धोवाह स्थीत श्री राष्ट्रिय आधारभूत विद्यालय रतनी धोवाहका प्रधानाध्यापक बीरेन्द्र महतोलाई एन.आर.एनए नन रेसिडेण्ट नेपाली एसोसिएसन क्यालिफोर्निया,अमेरिकाले उत्कृष्ट विधालय बनाउन गरेको अथक प्रयासको उच्च मुल्याङ्कन गर्दै अन्तराष्ट्रिय शिक्षा सेवा पुरस्कार-२०२२ ले सम्मानित गर्ने भएको छ।
राष्ट्रिय आधारभूत विद्यालय रतनि-धोवाहा रीउ नदिको किनारमा जीर्ण अवस्था र न्युन विद्यार्थी सङ्ख्याका कारण अन्य विद्यालयमा गाभिने अवस्थामा पुगेको थियो। नगरप्रमुख समेत विद्यालय गाभ्ने मनस्थितिमा पुगेका थिए तर महतोले हठ गरेर मर्च हुन दिएनन्।
सोही अवस्थामा बाढी पसेर जीर्ण भएको विद्यालयलाई महतोकै पहलमा दान स्वरूप १२कठ्ठा ७धुर जग्गा खोजी स्थानान्तरका साथ नयाँ ढङ्गले सञ्चालन गरिएको थियो। बिस्तारै बिस्तारै विद्यालय प्रगतिको लयमा फर्कियो। अधिकांश समय विद्यालयमा नै विताउने महतोले निरन्तर अभिभावक तथा सरोकारवाला निकायलाई घचघच्याइ रहे।हाल उक्त विद्यालय बालमैत्री विद्यालयका रूपमा सुपरिचित रहनुका साथै ग्रिन क्लिन वातावरण,आइसिटि ल्याव,इ लाइब्रेरी, मन्टेश्वरी विधीद्वारा पठनपाठन जस्ता कारण चर्चामा रहेको छ।
माडी नगरपालिकाद्वारा नमुना विद्यालयका रूपमा पुरस्कृत गरिएको उक्त विद्यालयमा हाल २५७ विद्यार्थी रहेका छन्।
२०७३ श्रावण २७ गते प्रध्यानाध्यापक नियुक्त भएका महतोले निरन्तर विद्यालयको भौतिक र शैक्षिक उन्नयनमा आफ्नो व्यक्तिगत आर्थिक रकम समेत लगानी गरेका थिए।हाल उनलाई प्रदान गरिएको अन्तर्राष्ट्रिय शिक्षा सेवा पुरस्कार यही भदौ ७ गते एक कार्यक्रमका बीच प्रदान गरिने छ ।
पुरस्कारमा ११सय अमेरिकी डलरका साथमा ताम्रपत्र समेत रहेको आयोजक संस्थाले जनाएको छ।






















