काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहले महाधिवेशनको प्रक्रिया सुरु भइसकेको अवस्थामा आचार संहिता विपरीत विभिन्न विभागमा सदस्य थप गर्ने काम भइरहेकाले त्यसलाई रोक्न माग गर्दै सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
पौडेल, महामन्त्री सशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले निर्वाचन समितिलाई सम्बोधन गर्दै बिहीबार संयुक्त हस्ताक्षरसहितको पत्र निर्वाचन समितिलाई बुझाएका छन् । सभापति देउवालाई बोधार्थ पठाइएको पत्रमा विभागहरुमा भइरहेका नियुक्ति तत्काल रोक्न र यसअघि भइसकेकाहरुको बदर गर्न माग गरिएको छ ।
उनीहरुले पार्टी कार्यालय सानेपामा मुख्यसचिव र निर्वाचन समितिमार्फत सभापतिको लिखित ध्यानाकर्षण गराएका छन् । थप गरिएका विभागमा सदस्य थप गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएका हुन् ।
“नेपाली कांग्रेसको तेह्रौं महाधिवेशन सम्पन्न भै चार वर्ष कार्यकालका लागि निर्वाचित कार्यसमितिको कार्यकाल गत फागुन महिनामा समाप्त भएपछि ‘असाधारण परिस्थिति’ भन्दै थपिएको अधिकतम एक वर्षको कार्यकाल पनि पाँच महिनामा लागिसकेको छ । पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका दोहोर्याएर समेत सार्वजनिक भइ महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेको छ,” लिखित सुझावमा भनिएको छ ।
अहिले पनि निर्वाचनको सर्वमान्य मान्यता एवम् आचारसंहिताको विपरीत हुन गइरहेको यो कार्य आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पार्ने दुराशयसमेतबाट प्रेरित रहेको हुँदा उक्त कार्य तत्काल रोक्न र बदर गर्न गराउन निर्वाचन समितिको ध्यानाकर्षण गराइएको लिखित पत्रमा उल्लेख छ ।
‘विधि पद्दति मिचेर हाल गठन भएका र भइरहेका उक्त विभागहरु अस्वीकार्य रहेको जानकारी गराउँदै आसन्न महाधिवेशनको स्वच्छता एवं निष्पक्षतालाई ध्यानमा राख्दै यस्तो विधान एवं विभिन्न अचारसंहिता विपरीतका मनोनयन र नियुक्तिहरु स्वीकार नगर्न पार्टीका सम्पूर्ण तहका नेता, कार्यकर्ता एवं शुभेच्छुक साथीहरुलाई आह्वान गर्दछौ,’ पौडेल पक्षले निर्वाचन समितिलाई बुझाएको पत्रमा उल्लेख छ ।





















