काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन्।
पार्टीभित्रको आन्तरिक विवादमा सहमति खोज्न आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको आजको उनीहरुको छलफल सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
छलफलमा प्रचण्ड र नेता नेपालले ओलीलाई राजनीतिक, कूटनीतिक रूपमा एकपछि अर्को गल्ती गर्दै गएको भन्दै राजीनामा दिन सुझाव दिएका हुन् । प्रचण्ड र नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै सन्देश राम्रो नगएको भन्दै राजीनामा गरी मार्ग प्रशस्त गर्न ओलीसँग आग्रह गरेको स्रोतले बतायो ।
स्रोतका अनुसार ओलीले पनि दुवै पदबाट राजीनामा नदिने अडान दोहोर्याएका छन् । दुवै समूहले आ–आफ्ना अडान कायम राखेपछि छलफल निष्कर्षविहीन भएको छ ।
दुबै पक्षबीच कुरा नमिले पनि भोलिका लागि बोलाइएको स्थायी समिति बैठकलाई भने निरन्तरता दिने सहमति भएको छ ।





















