चितवन / नारायणी अनलाइनका सम्पादक पत्रकार कृष्ण आचार्यमाथि कुटपिटमा संलग्न विद्युत प्राधिकरण भरतपुरका कर्मचारीहरु धरौटीमा रिहा भएका छन् ।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले आज (मंगलबार) अपरान्ह विद्युत प्राधिकरण भरतपुर शाखाका कार्यालय प्रमुख राजिव सिंह सहित ८ जनालाई एकमुष्ट २ लाख ४५ हजार रुपैयाँ धरौटीमा छाडेका हुन्।
पत्रकार आचार्यले उनीहरुविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालय भरतपुरमा अभद्र व्यवहार मुद्दा दर्ता गराएका थिए । घटनामा संलग्न रहेको भन्दै शुक्रबार राति १ जना र शनिबार ६ जना पक्राउ परेका थिए । आइतबार पक्राउ पूर्जी जारी भएपछि कार्यालय प्रमुख सिंह भने फरार भएका थिए । उनी सोमबार राति आफै प्रहरी कार्यालयमा हाजिर भएका थिए ।
अभद्र व्यवहार सम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने कानुनी व्यवस्था छ। १ वर्षसम्म कैद, दस हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था मुलुकी अपराध संहितामा उल्लेख छ। तर, जिल्ला प्रशासनले दवावका आधारमा धरौटीमा छाडेको टिप्पणी हुँदै आएको छ।
असार ३१ गते भरतपुर वितरण केन्द्रका मदिराले मत्त कर्मचारीहरुले पत्रकार आचार्यलाई परिसरभित्रै कुटपिट गरी लखेटेका थिए। आचार्यको हात र खुट्टामा चोट लागेको छ।
आचार्यले प्राधिकरणका कार्यालय प्रमुख राजिब सिंह, सुपरभाईजर इलेक्ट्रिकल आन्नद बहादुर कुँवर, दिवछ शाह, सिनियर मिटर रिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटर रिडर हेमशंकर चौधरी र लेखापाल हरि पौडेल विरुद्ध किटानी जाहेरी दिएका थिए।





















