चितवन / नापी कार्यालय चितवनमा अनलाइन टोकन प्रणाली सुरु गरिएको छ । कार्यालयले सेवालाई सहज र बढी भीडभाड हुन नदिन अनलाइन टोकन लागू गरेको हो ।
सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्नका लागि नापी कार्यालयमा टोकन प्रणाली लागु गरिएको प्रमुख नापी अधिकृत गिरीशकुमार लाल कर्णले जानकारी दिनुभयो ।
कार्यालयमा ढिलासुस्ती र अनियमितता भएको गुनासो आउन थालेपछि कार्यालयको सेवालाई सहज र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले एक कार्यक्रमका विच टोकन प्रणालीको शुभारम्भ गरेका थिए ।
टोकन प्रणाली लागु भएपछि विचौलियाहरु मौलाउन नपाउने र सेवा प्राप्तिमा सहज हुने सेवाग्राहीको भनाई छ ।
टोकन प्रणाली सञ्चालनमा आएपछि नागरिकले कार्यालयमा पुगेर अलमलमा पर्ने अवस्थाको अन्त्य हुने र सरल तथा सहज रुपमा पालैपालो सेवाग्राहीले चाहे अनुसारको फाँटबाट सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले नागरिकको सेवा पाउने अधिकारमा बिचौलियाको हावी बढ्दो रहेकाले टोकन प्रणालीले त्यसको अन्त्य गर्ने विश्वास व्यक्त गर्नु भयो ।





















