चितवन / चितवनका पत्रकार सम्बद्ध ६ संस्थाहरुले नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुखलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।
पत्रकार कुटपिट प्रकरणका आरोपी सिंहलाई पक्राउ गर्न चितवनका पत्रकारहरुले माग गरेका हुन् । असार ३१ गते भरतपुर वितरण केन्द्रका मदिराले मत्त कर्मचारीहरुले पत्रकार कृष्ण आचार्यलाई परिसरभित्रै कुटपिट गरी लखेटेका थिए ।
सो घटनामा किटानी जाहेरी दिदा समेत कार्यालय प्रमुख राजिव सिंह पक्राउ नपरेपछि दबाबका लागि संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस चौतारी नेपाल चितवनका अध्यक्ष सुवास पण्डीत, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस सेन्टर चितवनका उपाध्यक्ष राजेन्द्र आचार्य, समाजवादी प्रेस संगठन चितवनका अध्यक्ष टिकादत्त तिमिल्सिना, मिडिया नेपाल चितवनका अध्यक्ष समिक्षा पुरीले संयुक्त विज्ञप्ति जारी गर्दै सिंहलाई तत्काल पक्राउ गरी अनुसन्धानलाई थप प्रभावकारी बनाउन माग गरिएको छ ।
कार्यालय प्रमुखकै निर्देशनमा बदनियतपूर्ण मनसाय राखी सांघतिक आक्रमण भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार आचार्यले कुटपिट कार्यमा संलग्न भएको आरोपमा अभद्र मुद्धामा कार्यालय प्रमुख सहितका ८ जना विरुद्ध किटानी जाहेरी दिदा समेत कार्यालय प्रमुख गिरफ्तारीमा परेका छैनन् ।
प्रहरीले कार्यालय प्रमुखलाई पक्राउ नगरेपछि पक्राउन गर्न दबाब बढेको छ । कुटपिट घटनामा संलग्न भएको आरोपमा प्राधिकरणका १ कर्मचारी शुक्रबार र अन्य ६ जना शनिबार पक्राउ परेक थिए ।
सामान्य नागरिकले पनि पहुँच राख्ने सार्वजनिक निकायमा समाचार संकलन गर्न जादा मुद्धालाई प्रभावित पार्न अनेक लाञ्छना लगाउन खोजिएको भन्दै मुद्धालाई प्रभावित नपार्न आग्रह गरिएको छ ।





















