चितवन / प्रेस सेन्टर नेपाल चितवन शाखाले पत्रकार कृष्ण आचार्यमाथि शुक्रबार भएको आक्रमणको भर्त्सना गरेको छ ।
सचिव रविचन्द्र अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै प्रेस सेन्टर चितवनले विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले आचार्यमाथि गरेको साङघातिक आक्रमणको भर्त्सना गरेको हो ।
समाचार संकलनमा क्रममा विद्युत कार्यालय भित्रै आक्रमण तथा मोबाइल खोस्ने जस्ता कार्यले प्रेस स्वतन्त्रतामाथि नै ठाडो हमला भएको प्रेस सेन्टरको ठहर छ । घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै प्रेस सेन्टरले दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेको छ ।
नारायणी अनलाईन र सञ्चारपत्र दैनिकका सम्पादक आचार्य माथि शुक्रबार विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको कार्यालय परिसरमै आक्रमण गरेका थिए । प्राधिकरणका कर्मचारीहरु कार्यालय भित्रै मदिरा पिएर बसेको खबर पाएपछि पत्रकार आचार्य सोही बिषयमा रिपोर्टिङ लागि पुगेका थिए । सोही क्रममा उनीमाथि आक्रमण भएको थियो ।
कर्मचारीहरुले साङघातिक आक्रमण गरेपछि आचार्यले पर्खाल नाघेर भागेर ज्यान जोगाउन सफल भएका थिए । आचार्य प्रेस चौतारी नेपाल चितवन शाखा उपाध्यक्ष समेत हुन् ।





















