माथी लेखिएको हेडलाइनले सबै पत्रकारहरुको मन छोयो होला । देशमा बढ्दो महँगीले यतिबेला आकाश छोएको छ । एकातिर गरिबी र अर्कातिर बेरोजगारी समस्याले जनता पिरोलिएका छन् ।
सबैका आ-आफ्नै समस्याहरु छन् । समाजमा सबै किसिमका मानिसहरु छन् । कोही धनी कोही गरिब त कोही रोजगारी त कोही बेरोजगारी परिवर्तन त भए, देशमा तर ब्यबस्था बाहेक अबस्थामा परिवर्तन आउन सकेन । देश र समाजको परिबर्तन गर्न जनताका समस्या समाधान गर्न कयौं आवाजमुखी कलमहरु चलाउन मन लाग्छ ।
कहिलेकाही मैले चलाएका कलमहरु वकालत गरेका आवाजहरु कसैलाई मन नपर्नपनि सक्छ । कहिले गरिबका पक्षमा बोल्दा फलानाको पत्रकार भन्लान् त कहिले बिकास निर्माणमा देखिएका बेथितिहरुको बारेमा बोल्दा बिकास बिरोधि तर खैर मलाई कुनै आपत्ति लाग्दैन र म बिकास बिरोधि मान्छेपनि होइन । देश र समाजको लागि गहिरो चिन्तन भएको नागरिक हुँ ।
माडी क्षेत्रमा रहेर बिगत लामोसमयदेखि पत्रकारिता गर्दै आज यहाँसम्म आइपुगेको छु । १४ बर्षको सानो कलिलो उमेरबाट पत्रकारिता गर्दै, आज उमेरले २८ बर्ष पुग्दा समेत यही पत्रकारिता पेशालाई आफ्नो मुल पेशाको रूपमा लिइदै आएको छु ।
दिनरात, घामपानी, र साँझबिहानी नभनी म आफ्नै रुचि भएको पेशामा रमाउदै आएको छु । कहिलेकाही मनभित्र कुराहरु खेल्दोरहेछ । यही माटोमा जन्मिएर हुर्किएर लडिबुडी खेल्दै यिनै डाँडापाखा गर्दै बिताएका ती दिनहरु सम्झन्छु । अनि लाग्छ, मैले मेरो जन्मभूमिका लागि केही न केही राम्रो काम गर्नुपर्छ भन्ने मनमा लागिरहन्छ । हुन त मेरो पेशा नै कहिले जस त कहिले अबजस लिने हो । कसैले कसैलाई खुशी बनाउन त कहाँ सकिन्छ र ? महँगीले आकाश छोएका बेला पत्रकारिता गरेर जहाँन परिवार पाल्नपनि धौधौ हुन थालेको छ ।
चाहना मलाई पनि छ, हुन त अरुका चाहना ठुलठुला हुन्छन् होला । तर मेरो भने सानै चाहना एउटै छ, स्कुटी किनेर चढ्ने तर आफ्नो आर्थिक समस्याका कारण किन्न सकिरहेको छैन । कहिले पैदल त कहिले साइकल चलाएर नै पत्रकारिता गर्दै आज यहाँसम्म आएको छु । कुन नेताले कहाँ के बोल्छन् ? कहाँ के समस्या छ ? नागरिक के भन्छन् ? माडीको अवस्था के छ ? के हुनुपर्छ ? भन्ने कुराको खोजीमा दोडिरहन्छु । भनिन्छ, हुन त, बन डढेको सबैले देख्छन् तर मन जलेको कसैले देख्दैनन् ।
तर वास्तमा आफ्नो समस्या बुझ्ने कोही हुदैनन् । यो स्वार्थी दुनियाँमा निस्वार्थी भावनाले काम गर्ने सायद बिरलै भेटिन्छन् । भनिन्छ, तर कोही पत्रकारहरु पैसामा बिक्छन् राजनीतिमा चुर्लुम्म डुबेर काम गर्छन् । तर म त्यस्तो काममा भने फितिक्कै छैन । म सानाठुला सबै पार्टीका कार्यक्रमहरुमा जान्छु । कहिले खबर आएमा जान्छु त, कहिले खबर नगरेपनि जान्छु । मलाई कुनै स्वार्थ भाव मनमा नभई सबैको सेवा गरौं भन्ने नै छ ।
तर कहिलेकाही देशको अबस्था देखेर धिक्कार लाग्छ । बढ्दो महँगीका कारण गरिबका घरका चुल्होमा आगो बल्न सकिरहेको छैन । त्यस्तै गरिबको समस्या लेख्दै, बोल्दै र उजागर गर्दै हिड्ने म पत्रकारको पनि छ । पत्रकारिताको नशामा चुर्लुम्म डुबेको म कहाँ सकुला र छोड्नलाई म संगै पढेका साथीभाइहरुले ठुलठुला घर अनि धेरै प्रगति गरिसके । तर म भने जहाँकोतहीं नै छु । रेडियो माडीमा काम गर्दागर्दै हुन त, एक पटक म पनि धन कमाउने आशामा ठुलो सपना बोकेर बिदेश पनि नगएको होइन ।
झन्डै ५ बर्ष मलेसियामा रहे, त्यहाँ छदाँपनि म पत्रकारिता गर्थे । त्यतिबेला पनि नेपालका अनलाइन रेडियोहरुमा बोल्थे । म केही समयका लागि छुट्टीमा घर आउँदा साथीभाइ सबैले ओहो ! क्या गज्जवको जागीर रहेछ है, रेडियोमा बोल्ने तिमी बिदेशमा भएरपनि रेडियोमा बोली सुन्न पाउँदा साह्रै खुशी लागेको साथीहरु बताउँथे ।
त्यसपछि बिदेशको बसाइँ सकेर नेपालमा आएपछि पुनः पत्रकारिता क्षेत्रमा नै रहे । पत्रकारिता राज्यको चौथो अंग भनिएतापनि अबस्था नाजुक छ । पत्रकारिता गरेर पेट पाल्न सक्ने अबस्था अझै नेपालमा बन्न सकिरहेको छैन । पत्रकारका लागि राज्यले दिनुपर्ने सेवा सुबिधा अझै पूरा गराउन सकिरहेको छैन । नेताहरूलाई पत्रकार आएर मेरो समाचार राम्रो लेखिदिए हुन्थ्यो भन्ने लाग्छ ।
उनीहरु आँफु चर्चामा आउनको लागि पत्रकार सम्मेलन गर्छन् । तर उनीहरू कहिल्यैपनि सोच्दैनन् पत्रकारहरु कसरी बाँचेका छन् । अझ केही भन्नुपर्दा केही पत्रकारहरु फुर्ती लगाउछन आफ्नो तलब धेरै छ भन्दै, नभनुन् पनि कसरी यो उनीहरुको बाध्यता हो । कहिलेकाही मलाईपनि दिक्दारी लाग्छ, यो मैले कस्तो पेशा लिएछु ।
तर फेरि कहिलेकाही खुशीपनि लाग्छ, कार्यक्रमहरुमा जाँदा दर्शक, श्रोता, शुभचिन्तक र आयोजकहरुले माया गरेर लगाइदिएका माला र दोसल्ला अनि ती पुष्पगुच्छाहरु देखेर मन प्रफुल्ल हुन्छ । अनी घरमा गएर ती माला र ओडाएका दोसाल्लाहरु शिरबाट झिक्न नपाउदै श्रीमतीले भान्सामा यो छैन, उ छैन भनेर गुनासो गर्दा अहो ! मत कस्तो पेशामा लागेछु भन्ने लाग्छ ।
मलाई अझैपनि सम्झना छ, कयौं पटक रेडियोमा काम गर्दा, कहिले एक कप चिया र पाउरोटीको भरमा त कहिले एउटा चाउचाउको भरमा थुप्रै दिनहरु बिताएको छु । कुनै समय रिपोर्टिङ गर्न जाँदा धेरै बर्ष अगाडिको कुरा हो ।
कुसुमखोलाबाट रिपोर्टिङ गरेर फर्कदा अकस्मात् साइकलको चेन चुडिएर बगहीदेखि नै साइकल दोहोर्याएर घर हस्याङ्गफस्याङ्ग गर्दै आएको म अझैपनि सम्झन्छु ।





















